• १३ मंसिर २०८१, बिहिबार

अधुरा योजना सरकारको प्राथमिकतामा

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, फागुन ६ गते । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अधुरा छोडिएका तथा अलपत्र पारिएका योजना वर्तमान सरकारको प्रमुख प्राथमिकतामा परेको बताउनुभएको छ । 

राष्ट्रिय गौरवका आयोजनाको निरीक्षणका लागि शुक्रबार बाँके पुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठले नेपालगञ्ज र खजुरामा आयोजना गरिएका स्वागत कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । 

उपप्रधानमन्त्री श्रेष्ठको स्वागतमा नेकपा (माओवादी केन्द्र) बाँकेले नेपालगञ्जमा कार्यकर्ता भेटघाट आयोजना गरेको थियो भने खजुरा गाउँपालिकाले गाउँपालिकामा स्वागत कार्यक्रम गरेको थियो । 

उहाँले मरिहत्ते गरेर ठेक्का लिने तर काम नगरेर बीचमै योजनालाई अलपत्र पार्ने छुट अब कसैलाई पनि दिन नसकिने बताउनुभयो । “अधुरा छोडिएका र बीचमै अलपत्र पारिएका सबै ठूला–साना योजनाबारे सरकारले सूचना सङ्कलन गरिरहेको छ, अधुरा रहेका सबै योजना केही समयमै पूरा गराउने गरी अगाडि बढ्दै छौँ,” श्रेष्ठले भन्नुभयो । 

सरकारले कुनै पनि प्रकारका अनियमितता र जनतालाई समस्या पर्ने एवं ढिलासुस्तीलाई सहन नगर्ने प्रस्ट पार्दै उपप्रधानमन्त्री श्रेष्ठले यो सरकारले जनताका लागि सधैँ स्मरणीय काम गरेर जाने बताउनुभयो । माओवादी केन्द्रको नेतृत्वमा रहेको वर्तमान सरकारलाई सबै दलको समर्थन रहेको हुँदा राष्ट्रिय सहमतिको सरकार भएकोले सोही प्रकारले सरकारले आफ्ना कामकारबाहीलाई अगाडि बढाइरहेको उहाँले बताउनुभयो । 

खजुराको सडकलगायत हुलाकी राजमार्ग र अन्य विभिन्न योजनाको निर्माण कार्यलाई तत्काल तीव्र पारिने जनाउँदै श्रेष्ठले विकासका काममा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताउनुभयो । 

खजुरामा आयोजना गरिएको स्वागत कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) बाँकेका संयोजक डम्बर विकले खजुरामा पाँच वर्षमा पनि १८ सय मिटर सडकको निर्माण हुन नसकेको र नेपालगञ्ज–गुलरिया सडकको निर्माण पनि निकै सुस्त रहेको गुनासो गर्नुभयो। यस्तै नेपालगञ्जमा आयोजना गरिएको कार्यकर्ता भेटघाटमा पनि वरिष्ठ नेता कार्यकर्ताहरूले गठबन्धन, सरकार र राष्ट्रपतिको निर्वाचनका सम्बन्धमा विभिन्न जिज्ञासा राखेका थिए ।