चितवन समाचारदाता
चितवन, फागुन ६ गते । सहरी विकासमन्त्री विक्रम पाण्डेले विकास निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीलाई गुणस्तरीयतामा ध्यान दिएर काम गर्न आग्रह गर्नुभएको छ । निर्माण व्यवसायी सङ्घ चितवनको भरतपुरमा शुक्रबार २९औँ साधारण सभा उद्घाटन गर्दै मन्त्री पाण्डेले तोकिएको समयमा काम सम्पन्न गरेर जनताको मत जित्ने प्रयास गर्न अनुरोध गर्नुभयो ।
उहाँले भन्नुभयो, “एउटै निर्माण कम्पनीले धेरै ठाउँमा हात हालेर विकास निर्माण गर्दा समयमा नसकिने र गुणस्तरीयता पनि नहुने देखिएको छ ।” उहाँले कामभन्दा पैसाको पछि दौडिने समस्या भएका कारण समयमा काम नभएको पनि बताउनुभयो ।
निर्माण व्यवसायीहरू एक नभएका कारण खरिद नियमावली विषयमा विवाद आएको मन्त्री पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईंहरू एकथरी यस्तो नियमावली बनाउनुपर्छ भन्दै फाइल बोकेर आउनुहुन्छ, अर्काथरी त्यो हुँदैन परिवर्तन गर्नुपर्छ भनेर आउनुहुन्छ । अनि कसरी काम गर्न सकिन्छ ? एउटै नियम एउटालाई मान्य र अर्कोलाई मान्य नहुने पनि हुन्छ ? एकले अर्कोलाई समर्थन गर्ने कि विरोध गरेर बस्ने ?”
मन्त्री पाण्डेले भन्नुभयो, “हतारमा ऐन बनाएर पछि विरोधका स्वर आउने वातावरण बनाउने काम सरकारले गर्दैन । साना–ठूला सबै निर्माण व्यवसायीलाई काम गर्न सक्ने वातावरणको ऐन निर्माण हुन्छ ।”
कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारले चालू पुँजीमा २० प्रतिशत कटौती गरेको जानकारी दिनुभयो । उहाँले सरकारको पैसा कुन क्षेत्रमा खर्च भइराखेको छ र त्यसको उपयोगिता के भइराखेको छ भन्ने विषयमा अध्ययन भएको भन्दै सरकार आर्थिक रूपमा कमजोर हुँदै गएकाले फजुल खर्च कटौती गरिने बताउनुभयो ।