• १३ साउन २०८१, आइतबार

नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत मुम्बई लगियो

blog

नेपाली कांग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै । तस्बिर : विकाश द्वारे

काठमाडौं, फागुन ४ गते । बुधबार राति एलपीजी ग्यास सिलिण्डरबाट ग्याँस चुहेर आगो सल्किँदा घाइते हुनुभएका नेपाली कांग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । बिहीबार दिउँसो श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न अस्पतालमा उपचारका लागि लगिएको हो । अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीका अनुसार दिउँसो सवा ३ बजे तिर विमान उडेको छ ।


केही बेर अघिमात्रै कीर्तिपुरबाट उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको नेपाली कांग्रेसका नेताद्वय गोविन्द भट्टराई र कल्याण गुरुङले जानकारी दिनुभयो । उहाँको नेपालमा यथोचित उपचार सम्भव नभएपछि त्यसतर्फ लगिएको हो ।


छ जना चिकित्सकको टोली पनि उहाँसँगै जाने स्वास्थ्य मन्त्रालयको सचिवालयले जनाएको छ । चिकित्सकको टोलीमा डा. प्रदीप तिवारी, डा. वृहस्पति, डा. प्रदीप शर्मा, डा. रोशन शर्मा, दिनेश राई, सागर महर्जन र राज तामाङ हुनुहुन्छ । हिजो (बुधबार) राति घाइते हुनुभएका नेता डा. भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको थियो ।

कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कीर्तिपुर अस्पताल पुग्नुभएका सभापति शेरबहादुर देउवा ।

अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उहाँको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको हो । सोही सिफारिस अनुसार उहाँलाई भारत लगिएको हो ।

निवासमा ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद डा. भण्डारीसहित उहाँकी आमा हरिकला भण्डारी घाइते हुनुभएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा आजै बिहान निधन भएको छ । नेता डा. भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।