• २४ वैशाख २०८१, सोमबार

बायर्नसँग हार्‍यो पीएसजी

blog

च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्दै बायर्न र पीएसजीका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, फागुन ३ गते । फ्रेन्च महारथि पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रिक्वार्टर फाइनल खेलको पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको छ ।

घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा पीएसजीले बायर्नसँग १–० गोलको हार खेपेको हो । प्रतिस्पर्धात्मक खेलमा बायर्नलाई जिताउन किङ्स्ले कोम्यानले निर्णायक गोल गर्नुभयो । कोम्यानले ५३औं मिनेटमा गरेको गोल बायर्नका लागि प्रयाप्त बन्यो ।

पीएसजीले दोस्रो हाफमा केलियन एमबाप्पेलाई मैदानमा उतारेको थियो । ८२औं मिनेटमा एमबाप्पेले गोल गरेपनि भिएआरको सहायतामा मान्यता दिईएन । पीएसजीले लियोनल मेस्सी, नेयमार लगायत स्टार खेलाडी उतारे पनि हार टार्न सकेन । दोस्रो हाफको इन्जुरी समयमा बेन्जामिन पाभर्ड दोहोरो पहेँलो (रातौ) कार्ड पाउँदै बाहिरिएपछि बायर्नले १० खेलाडीमा खेल सकेको थियो । 

यसैगरी मङ्गलबार राति नै भएको अर्को खेलमा इटालियन क्लब एसी मिलानले इङ्लिस क्लब टोट्टनहामलाई १–० गोलले हराएको छ । घरेलु मैदानमा मिलानलाई जिताउन ब्राहिम डियाजले सातौं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । दोस्रो लेग मार्च ८ तारिख हुनेछ । एजेन्सी