• १२ मंसिर २०८१, बुधबार

पुलिसका प्रिन्सलाई दोहोरो सफलता

blog

पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : राखेप

काठमाडौं, फागुन २ गते । नेपाल पुलिस क्लबका प्रिन्स दाहालले बिराटनगरमा जारी लिनिङ्ग १२ औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगितामा दोहोरो सफलता हात पार्नुभएको छ । बिराटनगरमा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा प्रिन्सले पहिलो खेलमा कास्कीका विधान अधिकारीलाई २१–१७, २१–११ ले हराउनु भयो । अर्को खेलमा उहाँले नेपाल पुलिसका पूर्ण बोहराबाट वाकओभर पाउनुभएको थियो । 

शीर्ष १६ वरीयतामा रहेका खेलाडीको परुष एकलतर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लब रुकेश महर्जनले दोहोरो जित निकाल्ने क्रममा पहिलो खेलमा कास्कीका भूगोल गुरुङबाट वाकओभर पाउनुभयो । दोस्रो खेलमा एपीएफका रोशन साउदलाई २१–११, २१–१३ ले हराउनुभयो । पुलिसका विष्णु कटुवाल पनि पहिलो खेलमा एपीएफका रोशन साउदलाई २१–१३, २१–१४ ले र दोस्रो खेलमा कास्कीका भूगोल गुरुङबाट वाक ओभर पाउनुभयो । 

एपिएफका देवराज रानाले पहिलो खेलमा एपीएफका विजित थापामगरलाई २१–१९, २२–२० ले र पुलिसका दीपक बोहरालाई २१–९, २३–२१ ले हराउनुभयो । पुलिसका जीवन आचार्यले पहिलो खेलमा पुलिसकै पूर्णबहादुर थापाबाट वाक ओभर पाउनुभयो । अर्को खेलमा उहाँ कास्कीका विधान अधिकारीसँग १७–२१, १७–२१ ले पराजित हुनुभयो । 

पहिलो दिन एपीएफका क्षितिज खनालले पनि दोहोरो जित निकाल्नुभयो । पुलिसका सुनिल जोशीले पहिलो सङ्घर्षपूर्ण खेलमा आर्मीका नरेन्द्र बमलाई २१–७, १४–२१, २१–१४ ले र दोस्रो खेलमा आर्मीका अनिल मल्ललाई २२–२०, २१–९ ले हराउनुभयो । आर्मीका प्रफुल्ल महर्जन पहिलो खेलमा आफ्नै क्लबका अनिल मल्ललाई २१–६, २१–१०, ले र दोस्रो खेलमा आर्मीकै नरेन्द्र बमलाई २१–८, २१–७ ले हराउनुभयो । 

यसैगरी शीर्ष १२औँ वरीयतामा रहेको महिलातर्फको एकल खेलमा आर्मीकी रसिला महर्जनले कैलालीकी अनिला सुनारलाई २१–७, २१–७ को सोझो सेटमा हराउनुभयो । अर्को खेलमा आर्मीकै अमिता गिरीले कञ्चनपुरकी निलम महराबाट रिटायर्डहर्टको आधारमा जित निकाल्नुभयो ।