अर्जुन काफ्ले
स्याङ्जा, फागुन २ गते । गण्डकी प्रदेश मुख्यमन्त्री कप २०७९ मा महिला तर्फ म्याग्दी र पर्वत तथा पुरुषतर्फ बागलुङ फाइनमा प्रवेश गरेका छन् ।
राष्ट्रिय महिला भलिबल कप्तान अरुणा शाहीको कप्तानीमा कोर्टमा उत्रेको म्याग्दीले स्याङ्जालाई सिधा सेटमा पराजित गरेको हो । म्याग्दीले २५–१२, २५–२३, २५–१० अङ्कले स्याङ्जालाई पराजित गरेको हो ।
यस्तै महिला तर्फ नै पर्वतले तनहुँलाई २५–११, २५–१४, २५–१९ अङ्कले पराजित गर्दै म्याग्दीसँगको भेट पक्का गरेको टेक्निकल प्रमुख नारायणबहादुर भण्डारीले जानकारी दिनुभयो ।
यस्तै पुरुष तर्फ बागलुङले तनहुँलाई प्रतिस्पर्धात्मक खेलमा ३–२ सेटले पराजित गरेको हो । बागलुङले १८–२५, १८–२५, २५–१५, २५–१९, १७–१५ को जित निकालेको हो । पहिलो दुई सेटमा पराजित भएको बागलुङ खेलमा फर्कँदै पछिल्ला तिन खेल जित्दै फाइनको यात्रा तय गरेको हो ।
प्रदेश स्थापना दिवस पारेर गण्डकी खेलकुद परिषद्ले खेलाएको प्रतियोगितामा पुरुषतर्फ ११ जिल्ला र महिलातर्फ मनाङ बाहेकका १० जिल्लाको सहभागिता रहेको छ ।
फागुन ३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष तथा महिला प्रथमले एक लाख ५० हजार, द्धितियले एक लाख र तृतीयले ५० हजार रुपियाँ सहित कप, मेडल र प्रमाणपत्र हात पार्ने छन् ।
खेलमा सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपियाँ पाउँदा विधागत स्पाइकर, सेटर, सरभर, ब्लकर, डिफेण्डरले १०/१० हजार रुपियाँ पाउने खेलकुद परिषद्का प्रमुख टोपलाल भुसालले बताउनुभयो ।