• १३ साउन २०८१, आइतबार

सरकार ढाल्ने षडयन्त्र भइरहेको छ : अध्यक्ष ओली

blog

दमकमा भएको धार्मिक अनुष्ठानमा एमाले अध्यक्ष ओलीलाई अभिनन्दनपत्र प्रदान गरिँदै । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, फागुन १ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा काम गर्न नदिने र अरूलाई पनि गर्न नदिने तत्त्वहरू सक्रिय रहेको बताउनुभएको छ । अहिले सरकार ढाल्ने षडयन्त्र भइरहेको उहाँको भनाइ छ ।

आइतबार गृहनगर झापाको दमकमा आउनुभएका ओलीले अनेक प्रकारका षडयन्त्र भइरहेको बताउनुभयो । सो षडयन्त्रलाई चिर्दै अघि बढ्ने शक्ति सरकारमा रहेकाले निराश नहुन आग्रह गर्नुभयो । 

देशलाई अघि बढाउने र विकास पक्षधर शक्ति पनि सरकारमा भएकाले निराश हुनुपर्दैन, ओलीले भन्नुभयो । यो सरकारले जनभावनाअनुसार काम गरेर देशका समस्या समाधान गर्ने अध्यक्ष ओलीले प्रष्ट पार्नुभयो ।  

आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी समस्या, तटबन्धलगायतका समस्या समाधान गर्दै लैजाने ओलीले बताउनुभयो । कृषिको आधुनिकीकरण, रोजगार सिर्जनालगायतका विषयमा पनि आफ्नो ध्यान गएको उहाँले बताउनुभयो ।

आइतबार अपराह्न झापा आउनुभएका ओलीले अबेरसम्म विभिन्न कार्यक्रममा सहभागी हुनुभयो । आइतबार बेलुका अबेर उहाँ दमकमा भइरहेको एक धार्मिक अनुष्ठानमा समेत सहभागी हुनुभयो । 

झापाको गौरादह –४ स्थित डोरामारी माविको नवनिर्मित भवनको उहाँले उद्घाटन गर्नुभयो । यसैगरी आफ्नै निर्वाचन क्षेत्रको कटकपुर–खयरबारी चाँदु खोलाको पुल उद्घाटन र एक धार्मिक कार्यक्रममा सहभागी बन्नुभएको एमाले झापाका अध्यक्ष दीपक कार्कीले बताउनुभयो ।