“ऐया ! नपिट्नुहोस् न । मलाई कति सताउनुभएको ?” रमाले रुँदै आफ्नी दिदी रमिलालाई भनी । “तैँले चाहिँ मेरो सामान किन छुनुपर्ने नि हँ ?” रमिलाले थर्काउँदै भनी ।
रमिला छ वर्षकी हुँदा रमा जन्मिएकी थिइन् । रमिलाले रमालाई सधैँ जिस्काउँथी र रमा भने नरोएको दिनै हुँदैनथ्यो । यी दिदीबहिनीबीच माया भने असाध्यै धेरै थियो तर त्यो माया बाहिर कहिल्यै देखिँदैनथ्यो । उनीहरू एउटै विद्यालयमा पढ्थे । एक जना ९ कक्षामा पढ्थी भने अर्कीले कक्षा २ मा पढ्थी । उनीहरूकी आमा पनि रमा र रमिलादेखि वाक्क परिसक्नुभएको थियो ।
समय बित्दै गयो । रमिलाले प्लस टु सक्काइन । उनी बाँकी पढाइ पूरा गर्न विदेश जाने निधो भयो । उनको भिसा आयो र उनी निकै खुसी थिइन् । “आमा, रमा, बाबा छिट्टै यता आउनुहोस् त !” रमिलाले भनिन् । सबै जनाले एकै स्वरमा “के भयो” भनेर सोध्नुभयो । रमिलाले खुसी हुँदै “मेरो भिसा आयो नि” भनिन् । आमा बाबा त खुसी हुनुहुन्थ्यो तर रमा भने थोरै दुःखी देखिन्थिन् । सानोमा झगडा गरेको भए पनि अहिले त रमा र रमिला
साथीजस्तै थिए । त्यसैले आफू एक्लै हुन्छु कि भनेर रमा दुःखी देखिन्थिन् । रमिलाले रमालाई “किन दुःखी भएको ? बिर्सिस् र यो त आधुनिक जमाना हो । हामी भिडियो कलमा बोलौँला नि । हुन्न र ? अनि म कहिल्यै नआउने गरी जान लागेको हो र ? म छिट्टै आइहाल्छु नि ।” भन्दै सम्झाउन थालिन् । रमाले “हस्, तर फोन गर्न नबिर्सिनु है ।” भन्दै सहमति जनाइन् ।
रमिलाको जाने बेला पनि भएछ । उनले सबैलाई अँगालो हाल्दै “म फोन गर्छु, उठाउनुस् है ।” भन्दै विदेशको लागि हिँडिन् । दिदीसँग बिछोडिनु पर्दाको पीडाले रमाको आँखाबाट आँसु झरिरहेका थिए ।