• १ असोज २०८१, मङ्गलबार

सुनकोसीको भरमा माझी समुदाय

blog

शेरबहादुर राई

ओखलढुङ्गा, माघ २७ गते । तीन वर्षअघि सुनकोसी गाउँपालिका –१ ढेबुवाकी ६० वर्षीया माइती माझी सुनकोसी नदीमा पानी भर्दै भेटिनुभयो । शुद्ध पानी पिउने आफ्नो सपना कालो कपाल फुलेर सेताम्मे हुँदासम्म पनि पूरा हुन नसकेकोप्रति उहाँले त्यसबेला गुनासो गर्नुभयो । 

अहिले पनि ढेबुवावासीले स्वच्छ खानेपानी उपभोग गर्न पाएका छैनन् । ढेबुवा गाउँको सिङ्गो माझी समुदायले पुस्तौँदेखि खानेपानी समस्या भौग्दैआएका छन् । माझी समुदाय भएको ढेबुवाबासीले सुनकोसी पानीको भरमा जीवनयापन गरिरहेका छन् । 

हिउँदमा नदी सङ्लो भए पनि बर्खा लागेसँगै धमिलो पानी पिउनु ढेबुवाका माझीहरूको बाध्यता हो । ‘बर्खाको धमिलो पानी बढी गनाउँछ,’ स्थानीय रहबहादुर माझीले भन्नुभयो, “पुस्तौँदेखि सुनकोसी नदीकै पानी खाइरहेका ढेबुवाका माझीहरूले केही वर्ष मुहानबाट पाइपमा पानी ल्याएर पिउनुभयो ।” 

करिब सात वर्ष जति गाउँमा मुहानको पानी आएको उहाँले बताउनुभयो । ‘त्यो मुहान सुकेपछि फेरि सुनकोसीकै पानी पिउने गरेका छौँ’ उहाँले भन्नुभयो । समय समयमा नदीको फोहोर पानीका कारण बालबालिकालाई झाडापखाला, आउँलगायत रोगले सताउने गरेको रहबहादुरको भनाइ छ । 

चार वर्षअघि सुनकोसी गाउँपालिका १ वडा कार्यालयले ढेबुवाका माझी बस्तीमा खानेपानीको योजनाको साटो सिँचाइका लागि सुनकोसी नदीको पानी तान्ने सोलार पम्पसेट निर्माण गरिदिएको छ । आर्थिक वर्ष २०७४–७५ मा पाँच लाखको लागतमा वडाले सिँचाइका लागि सोलार पम्पिङ योजना सञ्चालन गरेको हो । 

त्यही सिँचाइका लागि सोलार पम्पिङ प्रणालीमार्फत नदीबाट सीधै तानिएको पानी ढेबुवाबासीले खानेपानीका रूपमा प्रयोग गर्नेगरेको माझीको भनाइ छ । सुनकोसी नदीमा माथिल्लो क्षेत्रका स्थानीयले फोहोर, मरेका जनावर फाल्ने, शव जलाइने भएकाले नदीको पानी दूषित हुनेगरेको छ । 

सुनकोसी गाउँपालिकामा देखिएको खानेपानी समस्या समाधानका लागि एक घर एक धारा कार्यक्रम सञ्चालन गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष कमल तामाङले बताउनुभयो । सोही कार्यक्रम अन्तर्गत ढेबुवाबासीका वर्षौँदेखिको खानेपानी समस्या समाधान गरिने अध्यक्ष तामाङको भनाइ छ । 

ढेबुवा गाउँमा सात घर माझीहरूको बसोबास छ । महिला–पुरुष, वृद्ध–वृद्धा, युवा र बालबालिका गरी करिब ६० जनाको बसोबास छन् । खेतबारी कम भएका कारण दैनिक ज्याला मजदुरीको भरमा उहाँहरू गुजारा गर्दै आउनुभएको छ ।