नेपालगञ्ज समाचारदाता
नेपालगञ्ज, माघ २७ गते । बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जले सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षण कार्यलाई अघि बढाएको छ ।
बाँके राष्ट्रिय निकुञ्जले राप्ती नदीमा गोहीसँगै जलचरको सङ्ख्यावृद्धि गर्न प्राकृतिक जीवचक्रलाई खलबलिन नदिन गोही संरक्षण अभियानको सुरुवात गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताउनुभयो । निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने राप्ती नदीमा जलचरमध्ये सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षण सुरु गरिएको उहाँले बताउनुभयो ।
गोही संरक्षण अभियानअन्तर्गत पहिलो चरणमा बर्दिया राष्ट्रिय निकुञ्जले दुईवटा भाले र आठवटा पोथी घडियाल बाँके निकुञ्जलाई हस्तान्तरण गरेको थियो । बर्दियाबाट स्थानान्तरण गरिएका गोही बाँकेको बाँसखोलीस्थित राप्ती नदीमा छाडिएको छ । गोहीलाई चितवनबाट बर्दिया ल्याइएको थियो । राप्ती नदीमा गोहीको सङ्ख्या घट्दै गएको पाइएपछि बर्दियाबाट ल्याएर बाँकेमा संरक्षण गर्न थालिएको उहाँको भनाइ छ ।
यसअघि नदीको स्थलगत अध्ययन गर्दा त्यहाँको पानीसँगै बगरक्षेत्र वातवरणीय दृष्टिले समेत घडियाल गोहीको उचित बासस्थान हुने निष्कर्षमा निकुञ्ज पुगेको थियो ।
त्यसैका आधारमा बर्दिया र बाँके राष्ट्रिय निकुञ्जले गोही संरक्षण अभियान सुरु गरेको हो । पानीमा प्रदूषण न्यून रहेको तथा स्वच्छ पानीमा बस्ने घडियाल प्रजातिको मुख्य आहारा माछा भएकाले राप्ती नदीमा यी दुवै उपलब्ध रहेको प्रमुख शाहले बताउनुुभयो । गोही संरक्षण गर्न थालेपछि माछा मार्ने क्रमलाई भने नियन्त्रण गरिने छ । नदीमा माछा मारेर जीविका चलाउँदै आएका खुनार र कुमाल जातिको व्यवसाय सङ्कटमा पर्ने देखिएकाले उनीहरूको आयआर्जनको विकल्प खोजिने निकुञ्जले जनाएको छ ।
“विकल्प स्वरूप खोला वा नदीबाहिर माछा पालन गर्न सिकाउने तयारीमा छौँ,” निकुञ्ज प्रमुख साहले भन्नुभयो, “सङ्कटापन्न सूचीमा रहेका प्रजातिको संरक्षण गर्नु आवश्यक छ ।”
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले सबैको सहकार्यबाट संरक्षण कार्य सुरु गरिएको जनाउँदै जलचरको सङ्ख्या बढाउनुपर्ने अति आवश्यक रहेको बताउनुभयो । उहाँले गोही संरक्षणका लागि गाउँपालिकाले बाँके निकुञ्जलाई हरेक प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।