• १६ चैत २०८०, शुक्रबार

संवैधानिक आयोगहरूलाई बेग्लै कर्मचारी सेवा समूह आवश्यक : प्रमुख आयुक्त

blog

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । फाइल तस्बिर

काठमाडौं, माघ २५ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक आयोगहरूको कामको प्रकृति र दक्ष जनशक्तिको निरन्तर उपलब्धताका लागि बेग्लै कर्मचारी सेवा समूह आवश्यक रहेको बताउनुभएको छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आयोगको सचिवालयमा रही कार्य गर्ने कर्मचारीहरूलाई धन्यवादसहित कदरपत्र वितरण गर्न आज (बुधबार) आयोगमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले निर्वाचन सकिएपछि आयोगका कर्मचारीमा विचलन आउने र सरुवा खोज्ने प्रवृत्ति अन्त्य गर्न बेग्लै सेवा समूहको आवश्यकतामा जोड दिनुभयो ।

उहाँले निर्वाचनपछि नीतिगत र कानुनी सुधारका लागि आयोगले काम गरिरहेको बताउँदै उहाँले सचिवालय र काजमा रहेर काम गर्ने कर्मचारी, सुरक्षाकर्मीलगायतलाई धन्यवाद व्यक्त गर्नुभयो ।

सो अवसरमा आयोगका सचिव गोकर्णमणि दवाडीसहित कर्मचारी, संयुक्त निर्वाचन सञ्चालन केन्द्रका पदाधिकारी, विज्ञलगायतलाई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गराउन महत्त्वपूर्ण निर्वाह गरेकामा कदरपत्र प्रदान गरिएको थियो ।