• १२ मंसिर २०८१, बुधबार

विस्थापित हुँदै पानीघट्ट

blog

रुकुमपूर्व समाचारदाता

रुकुमपूर्व, माघ २३ गते ।   स्थानीय गाउँबस्तीमा पुस्तौँपुस्तादेखि चलाइँदै आएको परम्परागत पानीघट्ट अहिले विस्थापित हुँदै गएका छन्। बिजुली बत्तीको सहजतासँगै पानीघट्टको ठाउँमा कुटानीपिसानीका मिल सञ्चालनमा आएका छन्।

आधुनिक विद्युतीय घट्ट तथा मिल गाउँगाउँमा पुगेपछि विगतमा लोकप्रिय मानिने पानीघट्ट विस्थापित हुँदै गएको हो। भूमे गाउँपालिका–३, झुम्लाबाङका ६४ वर्षीय विष्णु बुढाले २०३४ सालदेखि पानीघट्टबाट जीविकोपार्जन गर्दै आउनुभएको छ। झुम्लाबाङमा बिजुली पुगे पनि पानीघट्ट अझै लोकप्रिय छ। झुम्लाबाङ नजिकैको गाउँ क्याङ्सी, सिमा र गाबाङ गाउँमा विद्युतीय घट्ट एवं मिलले पानीघट्टलाई विस्थापित गरेको उहाँले बताउनुभयो। 

जब गाउँमा बिजुली आयो तब परम्परागत पानीघट्ट विस्थापित हुँदै आएको बुढाले सुनाउनुभयो। बाह्रैमास पानीघट्ट चल्ने यस क्षेत्रमा झुम्लाबाङ गाउँ मात्र रहेको थियो। “त्यसबाहेकका क्याङ्सी, गाबाङ गाउँमा बर्खामासमा मात्र पानीघट्ट चल्ने भएकाले हिउँदमा अन्न पिस्न दुई गाउँका करिब चार सय घरधुरी झुम्लाबाङको पानीघट्टमा अन्न पिस्न आउने गरेका थिए,” उहाँले भन्नुभयो। 

हिमाली जिल्ला भएकाले हरेक गाउँमा प्रशस्त मात्रमा पानीको स्रोत नभएकाले पानीघट्ट सञ्चालन हुने गाउँमा अन्न पिस्नेको भीड नै लाग्ने गरेको थियो। 

अहिले ठाउँठाउँमा विद्युतीय घट्ट तथा मिलको सेवा विस्तार भएपछि विगतमा अन्न पिस्न भीड लाग्ने पानीघट्टमा फाट्टफुट्ट मात्र मान्छे आउने गरेको स्थानीय ८३ वर्षीया तिरमाला विकले बताउनुभयो।