• ७ वैशाख २०८१, शुक्रबार

हाम्रा सम्पदा

स्वस्थानी मातेश्वरी साँखु मेलाको रौनक (फोटो फिचर)

blog

काठमाडौं, माघ २१ गते । काठमाडौँको रत्नपार्कबाट करिब १५ किमी पूर्व साँखु बजारदेखि केही दुरीमा रहेको तीर्थस्थल शाली नदी किनारमा रहेको निकै नै कलात्मक शैलीको स्वस्थानी मातेश्वरीको मन्दिर रहेको छ ।


मन्दिरको गर्भगृहमा कालो प्रस्तरको निकै नै आकर्षक र कलात्मक शैलीको स्वस्थानी मातेश्वरीको मूर्ति छ । स्वस्थानी व्रत प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमाका दिन साङ्गे गरिन्छ । 

यस अवधिमा घर घरमा व्रतालुहरू स्वस्थानी कथाको वाचन गर्ने गर्दछन् । स्वस्थानी कथामा ७० वर्ष उमेरका शिवशर्मा नामक ब्राह्मणसँग सात बर्षकी गोमादेवीको विवाह भएको र तिनीहरूबाट नवराज भन्ने एक पुत्र जन्मेका थिए । 


स्वस्थानी मातेश्वरीको कृपाले उनी लावण्य देशको राजा भएको, तर उनकी रानी चन्द्रावतीले भने स्वस्थानी मातेश्वरीको अपहेलना गरेको कारणबाट शाली नदीमा खसी कुष्ठ रोग लागी हात खुट्टा झरेर दुःख कष्ट पाएर त्यहाँ शिलारुप भइरहेकी र पछि यिनै मातेश्वरीको पूजा आराधनाले रोग निको भई त्यसपछि लावण्यदेश पुगी रानी भएको कथन रहेको छ । 


यस अवसरमा साँखुको शाली नदीमा व्रतालुहरू बसेर कठोर पूजा अर्चना गर्दछन् । उक्त स्थलमा मेला समेत लाग्ने गर्दछ । मेलामा भक्तजनहरूको अत्यधिक भिड समेत हुने गर्दछ । 


धार्मिक एवम् पवित्र स्थल शालीनदी किनारमा यस मातेश्वरीको मन्दिरबाहेक गणेश, भैरव, हनुमान, विष्णु, महादेव, नवराज, राधाकृष्ण, चन्द्रावती र डोलेहरूका मूर्तिहरूका साथै माधव नारायणको मूर्ति पनि छ । 


स्वस्थानी व्रत कथामा वर्णन गरिएअनुसार नवराजको राज्य लावण्यदेश साँखु थियो । यस वर्षको स्वस्थानी  व्रत कथामा माघ २२ गते आइतबार साङ्गे हुँदैछ ।