• १६ चैत २०८०, शुक्रबार

जनावर र चराका नाममा सजिएका सौराहाका चोकहरु (फोटो फिचर)

blog

काठमाडौं, माघ १८ गते । चितवन जिल्लाको सौराहामा रहेको चितवन राष्ट्रिय निकुञ्ज ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । टिकौली वन र राप्ती नदीदेखि महाभारतको फेदसम्म १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस क्षेत्रलाई सन् १९७३ मा नेपालको पहिलो राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गरिएको हो । 


यो राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सन् १९८४ मा पर्न सफल भएको थियो । यही सौराहाका विभिन्न चोकहरुको नामाकरण विभिन्न जनावर र चराहरुको नाममा गरिएको छ । सौराहा चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नं. ६ र ७ मा पर्दछ ।


नारायणगढबाट करिब १३ किलोमिटरको दूरीमा रहेको टाँडी पुगेपछि दाहिने तर्फको चोकमा गैडाको प्रतिरुप छ । जसलाई सौराहा चोक भनिन्छ । यहीँबाट दाहिनेतर्फ करिब ६ किलोमिटरको दूरीमा सौराहा छ । सो बाटो जाँदा पहिला राप्ती नदी किनारमा ठूलो आकर्षक प्रवेशद्वार देख्न सकिन्छ ।


यसको केही दूरसीमा अग्लो घण्टाघर छ । यहाँबाट दाहिने मोडिएपछि केही दूरीमा सौराहा बजार पुगिन्छ । सौराहा बजारमा सर्वप्रथम दाहिनेतर्फ मयूरको प्रतिरुप छ । यसलाई चरा चोक भनिन्छ । यसको दाहिनेतर्फ अर्थात हात्ती प्रजनन केन्द्र जाँदा बाटोको दाहिनेतर्फ बाघको प्रतिरुप रहेको स्थललाई बाघ चोक नामकरण गरिएको छ ।


सोही अनुसार चरा चोकबाट सोझै केही दुरीमा दाहिनेतर्फ हात्ती चोक रहेको छ । यहाँ हात्तीको प्रतिरुप छ । यहाँबाट राप्ती नदी जादा बाँयातर्फ गैडा चोक पर्दछ । यस चोकलाई सौराहाको प्रमुख चौक भनिन्छ ।


जहाँ गैडा र गैडाको बच्चाको प्रतिरुप छ । यस चोकबाट सोझै गएपछि राप्ती नदीको तटमा आकर्षक सौराहा पार्क छ । यही पार्कबाट स्वदेशी एवं विदेशी पर्यटकहरु सूर्यास्तको दृश्यावलोकन गर्दछन् ।


यहाँ रहेको ठूला ढुङ्गामा विभिन्न जनावर र चराको आकृति कुँदिएको छ । यस चोकमा बेलुकीपख पर्यटकहरुको निकै नै भिड लाग्दछ । यस पार्कको बायाँतर्फ गएपछि  चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको अगाडि दारे हात्तीको प्रतिरुप छ । यसलाई दारे हात्ती चोक भनिन्छ ।


यहाँबाट कुमरोज सामुदायिक बन जाँदा बाटोमा किसानले हलो जोतेको निकै आकर्षक शालिक भएको स्थललाई किसान चोक नामाकरण गरिएको छ । सौराहाका विभिन्न चोकले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । 


Author
राजेश ढुंगाना

ढुंगाना गोरखापत्र संस्थानका पूर्व प्रमुख फोटो सम्पादक तथा हाल स्वतन्त्र फोटो पत्रकार हुनुहुन्छ ।