• १५ चैत २०८०, बिहिबार

नदीको आत्मा त उसको गहिराइमा छ

blog

नदी बगिरहेको देखिन्छ

नदी बगिरहेको सुनिन्छ


तर नदी

लम्बाइ र चौडाइ मात्र होइन

न त दौड्ने गति मात्र हो

नदीको आत्मा त उसको गहिराइ हो

जुन आँखाले होइन

हृदयले अनुभूत गर्नुपर्छ ।


कसैले नदेख्ने गरी

धरतीको प्रेममा लिप्त छ नदी

धरतीको छातीसम्म व्याप्त छ नदी

ऊ कहाँ बगिरहेको मात्र छ र ?

धरतीलाई कसिलो अँगालो हाल्दै 

म्वाइँ खाँदै पनि छ !


यो देख्न आँखा होइन

भित्री आँखा चाहिन्छ

मस्तिष्क होइन

भित्री हृदय चाहिन्छ ।


हृदय नभएकाहरू

नदीलाई केवल पानी देख्छन्

बुझ्दैनन् तिनले 

नदीको प्रेम

नदीको जीवन !


नदीको जीवन नबुझीकन

बुझिन्छ नै कसरी

जीवनको नदी ?