• १५ वैशाख २०८१, शनिबार

आठ अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैङ्क

blog

काठमाडौँ, माघ १७ गते । सरकारलाई आवश्यक आन्तरिक ऋण व्यवस्थापन गर्न नेपाल राष्ट्र बैङ्कले बुधबार आठ अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ ।

राष्ट्र बैङ्कले माघ १८ गते बुधबार आठ अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र २०८४ ‘झ’ जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो । सो ऋणपत्रको बोलकबोल भने मङ्गलबार हुने सोमबार जारी गरिएको सर्कुलरमा उल्लेख छ ।

राष्ट्र बैङ्कले जारी गर्न लागेको ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्ने भएका छन् ।

ऋणपत्रको साँवा भुक्तानी मिति २०८४ माघ १८ गते रहेको छ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैङ्कले जनाएको छ ।राष्ट्र बैङ्कमा खाता नरहेका बोलवालाहरूले ऋणपत्र खरिद गर्न चाहेमा खरिद गर्ने रकमको २ दशमलव ५० प्रतिशतले अर्नेस्ट मनीबापतको रकम बैङ्कको खातामा जम्मा गरी प्राप्त भौचर बुझाउनुपर्ने बताइएको छ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबलवालालार्ई निष्कासित रकमको छ अर्ब ८० करोड (८५ प्रतिशत) र एक अर्ब २० करोड अर्थात् १५ प्रतिशत छुट्याइएको राष्ट्र बैङ्कले जनाएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर बैङ्क तथा फाइनान्स कम्पनीबाट कर्जा लिन र दिनसमेत सकिनेछ ।