• १६ चैत २०८०, शुक्रबार

नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुमधुर बनाउनेछौँ : उपविदेशमन्त्री न्युल्याण्ड

blog

पत्रकार सम्मेलनमा बोल्नु हुँदै संयुक्त राज्य अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्ड । तस्बिर : गोरखापत्र अनलाइन

काठमाडौं, माघ १६ गते । दुई दिने नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने बताउनुभएको छ । 

उहाँले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी यस्तो बताउनुभएको हो । उहाँले नेपालको आर्थिक विकासमा अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसि० परियोजनामार्फत सहयोग गरिरहेको पनि बताउनु भयो । 

उहाँले अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा, साइबर क्राइमका क्षेत्रमा भइरहेको अपराधलाई रोक्न नयाँ टेक्नोलोजीमा सहयोग गर्ने विषयमा आगामी दिनमा झनै सशक्त बनाउँदै जाने प्रतिबद्धता जनाउनु भयो । 

उपविदेशमन्त्री न्युल्याण्डले नेपाललाई अमेरिकाले बहुपक्षीय सहयोग गरिरहेको भन्दै आगामी दिनमा पनि आपसी हितका विषयमा निरन्तरता दिने प्रतिबद्धता जनाउनु भयो । 

उहाँले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्रको विकास तथा सुशासनमा पुर्‍याउँदै आएको सहयोगलाई अझै सुदृढ बनाउँदै जाने बताउनु भयो । उपविदेशमन्त्री न्युल्याण्डले नेपालको नयाँ सरकारले अमेरिका र नेपालबीचको सम्बन्धलाई झनै सुमधुर बनाएर लैजानेमा आशावादी रहेको बताउनु भयो । 

सो अवसरमा उपविदेशमन्त्री न्युल्याण्डले पाटन दरबार स्क्वायरको समेत अवलोकन गर्नुभएको थियो । 

उहाँले आज नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा।विमला राई पौड्याल, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अलग–अलग भेटवार्ता गर्नुभएको छ । नयाँ सरकार बनेपछि अमेरिकी सरकारको तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।