• ८ वैशाख २०८१, शनिबार

खुम्चियो राजश्व सङ्कलन, झण्डै आधाले गिरावट

blog

बेलहियामा रहेको भैरहवा भन्सार कार्यालय । तस्विरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, माघ १४ गते । भैरहवा भन्सार कार्यालयको राजश्व सङ्कलन घटेको छ । भन्सार कार्यालयको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षमा झण्डै आधाले राजश्व सङ्कलनमा गिरावट आएको हो । 

गत आर्थिक वर्ष २०७८–७९ को पुस मसान्तसम्म बेलहिया नाका हुँदै एक खर्ब ६२ अर्ब ९१ करोडमा मालवस्तु आयात हुँदा ६७ अर्ब १८ करोड राजश्व सङ्कलन भएको थियो । चालु आर्थिक वर्ष २०७९–८० मा एक खर्ब १२ अर्ब ९३ करोडका मालबस्तु मात्रै आयात भएको छ । यसबाट ३५ अर्ब ४४ करोड मात्रै राजश्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले जानकारी दिनुभयो । अघिल्लो वर्षको तुलनामा यस वर्ष ३१ अर्ब ७३ करोड अर्थात् ४७ प्रतिशत राजश्व सङ्कलनमा कमी आएको छ ।

भन्सार प्रमुख पौडेलका अनुसार केही मालवस्तु आयात गर्दा अनिवार्य मार्जिन राख्नु पर्ने र पैठारीमा लगाइएको प्रतिबन्धका कारण राजश्व सङ्कलन यस वर्ष खुम्चिएको हो । “यसका अन्य कारणहरू पनि होलान्, तर मुख्य कारण नै मार्जिन र प्रतिबन्ध हो”, उहाँले भन्नुभयो– “सरकारले अहिले यो प्रावधान हटाएको छ, अब राजश्वमा वृद्धि हुने अपेक्षा छ ।” 

सरकारले जीप, कार र भ्यानलगायतका वस्तु आयातमा अनिवार्य मार्जिन राख्नुपर्ने व्यवस्था गराएको थियो । जसलेगर्दा यी वस्तुको आयात निकै कम थियो । “तोकिएको लक्ष्य पूरा गर्न हामीले राजश्व चुहावटलाई नियन्त्रण गर्ने, गस्ती गर्ने, चेकजाँचमा थप कडाइ गर्ने गरेका छौँ”, भन्सार प्रमुख पौडेलले भन्नुभयो– “राजश्व सङ्कलनमा यसबाट केही सुधार हुने अपेक्षा छ ।” 

भन्सार कार्यालयका अनुसार अनिवार्य मार्जिन राख्नु पर्ने प्रावधानका कारण अघिल्लो वर्षभन्दा यस वर्ष ती बस्तुबाट २३ अर्ब ८९ करोड राजश्व असुली कमी भएको छ । यस्तै, जीप, कार र भ्यान बाहेक पैठारी प्रतिबन्ध लगाइएका अन्य बस्तुबाट अघिल्लो वर्षको तुलनामा यस वर्ष तीन अर्ब ३५ करोड राजश्व असुली कमी भएको छ । यस्तै, विगतका वर्षहरूमा नियमित आयात हुने वस्तु पनि यस वर्ष घटेको छ । यसबाट चार अर्ब ४९ करोड राजश्व प्रभावित भएको भन्सार कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई एक खर्ब ५५ अर्ब ६० करोड ३८ लाख राजश्व सङ्कलन लक्ष्य तोकेको छ । आर्थिक वर्षको आधा समयावधि घर्किसकेकाले लक्ष्य पूरा गर्न भन्सारलाई कठिन छ ।

छोटी भन्सार नहुँदा राजश्व गुम्दै

द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार कार्यालय पुनः स्थापन नहुँदा रुपन्देहीमा भारतबाट अवैधरुपमा सामान आयात गर्ने क्रम बढ्दै गएको छ । यसबाट राजश्व सङ्कलनसमेत प्रभावित बनेको हो । रुपन्देहीका सात भन्सारमध्ये एउटा छोटी भन्सार मात्र सञ्चालनमा छ । ६ वटा छोटी भन्सार अझैँ सञ्चालनमा आउन सकेका छैनन् ।

साबिकमा भैरहवा भन्सार कार्यालयअन्तर्गत नै नवलपरासीका पाँच वटै छोटी भन्सार कार्यालय सञ्चालनमा छन् । महेशपुर छोटी भन्सार कार्यालय हाल स्तरोन्नति भई मुख्य भन्सार कार्यालयमा परिणत भएको छ । नवलपरासीमा सबै छोटी भन्सार कार्यालय सञ्चालनमा आए पनि रुपन्देहीमा एउटा मात्र सञ्चालन छ । रोहिणी गाउँपालिकामै पर्ने बुची बरवा छोटी भन्सार कार्यालय पुनः स्थापनाको माग गरिएको छ । रुपन्देहीमा केही समय सञ्चालनमा आएको थुम्हवा पिपरहवा छोटी भन्सार पनि हाल बन्द छ ।

जिल्लामा बुची बरवा, अमवा, पक्लिहवा, बेथरी, मन्झरिया, थुम्हवा पिपरहवा र लुम्बिनी छोटी भन्सार कार्यालय स्थापना गरिएका थिए ।