• १४ मंसिर २०८१, शुक्रबार

राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्ने माओवादी केन्द्रको निर्णय

blog

नेकपा (माओवादी केन्द्र)को पार्टी स्थायी समिति बैठक ।

काठमाडौं, माघ १३ गते। सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ। 

दलबीच राष्ट्रपति एमालेलाई दिने सत्तारुढ दलको सहमतिकाबीच माओवादी केन्द्रको शुक्रबार बसेको पार्टी स्थायी समितिको  बैठकले सो निर्णय गरेको हो। एमालेसहितका दलसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो। 

बैठकमा धेरैजसो नेताले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने धारणा राखेकाले पार्टीले पनि सोही अनुसार अघि बढ्ने नीति लिएको उहाँको भनाइ छ। 

उपाध्यक्ष महराले भन्नुभयो, “राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्ने धेरै कमरेडहरूको आवाज आएको छ। राष्ट्रिय सहमति कहाँ हुन्छ ? राष्ट्रिय सहमति खोज्ने हाम्रो नीति छ। राष्ट्रिय सहमति हुन्छ कि हुँदैन ? त्यो बाँकी छ।” उहाँले एमालेसहितको राष्ट्रिय सहमतिमा जाने बताउनुभयो। 

माओवादी स्थायी समितिको शुक्रबारको बैठकमा महराले पार्टी एकता सम्बन्धी प्रतिवेदन, उपमहासचिव जनार्दन शर्माले पार्टीको संगठनसम्बन्धि प्रतिवेदन र अर्का उपमहासचिव गिरिराजमणि पोखरेलले पार्टीको स्कुलिङ सम्बन्धी प्रतिवेदन पेस गर्नु भएको थियो।

पार्टी एकता सम्बन्धी प्रतिवेदनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताका लागि संस्थागत रूपमा वार्ता प्रक्रिया अघि बढाइएको उल्लेख गरिएको छ। त्यसैगरी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँगएकताका लागि व्यक्तिगत रूपमा पहल सुरु गरिएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको उपाध्यक्ष महराले बताउनुभयो।

उहाँले भन्नुभयो, “आजको बैठकमा खास गरेर मैले पार्टी एकता सम्बन्धी प्रतिवेदन पेस गरेँ। त्यसपछि जनार्दन शर्माले सङ्गठन सम्बन्धी प्रतिवेदन र गिरिराजमणि पोखरेलले स्कुलिङ सम्बन्धी प्रतिवेदन पेस गर्नुभयो। हिजो अध्यक्षले पेस गर्नु भएको प्रतिवेदन र यी सबै विषयमा आज २७ जना कमरेडले आ–आफ्नो मत राख्नुभयो।”

महासचिव देव गुरुङको नेतृत्वमा उपमहासचिवको टिमलाई पार्टीका केन्द्रीय सदस्यको कार्य विभाजनको ठोस योजना ल्याउने गरी माघ १६ गते ११ बजे फेरि बैठक बोलाइएको उहाँले जानकारी दिनुभयो।