रामेछाप समाचारदाता
रामेछाप, माघ १२ गते । रामेछापको मन्थली नगरपालिकाले सामुदायिक शिक्षा सुधारका लागि अभियान सञ्चालन गरिरहेको छ। नगरपालिकाले शिक्षा क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेर सामुदायिक विद्यालयको पठनपाठन गुणस्तरीय बनाउने अभियान चलाइरहेको छ। सोही अभियानअनुसार नगरपालिकाले अहिले अभिभावक, शिक्षक, विद्यार्थी, सरोकारवाला निकायसँग छलफल, प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ।
आन्तरिक व्यवस्थापन सुधार, शिक्षण सिकाइ उपलब्धिका लागि प्रधानाध्यापक तथा शिक्षकहरूसँग दोहोरो सम्झौता, विद्यार्थी, शिक्षक डायरी, दैनिक कामको अभिलेखीकरणलगायतका काम नगरपालिकाले सुरु गरेको छ। यही अभियानअन्तर्गत आइतबार मन्थली नगरपालिका–२, कठजोरको नीलकण्ठेश्वर माध्यमिक विद्यालय कठजोरमा गुणस्तरीय शिक्षाका लागि शिक्षक तथा सरोकारवालाबीच अन्तत्र्रिmया गरिएको छ। शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक र स्थानीय सरोकारवालासँग नगरपालिकाका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेतलगायतका जनप्रतिनिधिले शिक्षा सुधारका सवालमा छलफल गर्नुभएको हो।
नगरप्रमुख श्रेष्ठले सामुदायिक शिक्षाको गुणस्तर सुधार नगरपालिकाको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “मन्थली नगरपालिकाको पहिलो प्राथमिकता शिक्षा नै हो। त्यसैले बजेटको अभावले शिक्षामा सुधार गर्ने काम पैसाको अभावले रोकिँदैन।”