• १२ मंसिर २०८१, बुधबार

अयोध्यापुरीधाम विकास

सरकारले बजेट नछुट्याएपछि वडाले थाल्यो काम

blog

चितवनको माडीमा अयोध्याधाम गुरुयोजनासहित डीपीआर ।

शालिग्राम नेपाल 

चितवन, माघ १२ गते । चितवनको माडीस्थित अयोध्यापुरीधाममा योजनाअनुसार प्रदेश र सङ्घ सरकारले काम नगरेपछि वडाले बजेट विनियोजन गरेर पूजाका लागि निर्माण कार्य थालनी गरेको छ। 

माडी नगरपालिका–९ मा रहेको प्रस्तावित अयोध्याधाम राम मन्दिरमा हवन कुण्ड, भान्साघर र पुष्प क्यारी बाल निर्माण कार्य अगाडि बढाएको हो। माडी नगरपालिका–९ नम्बर वडा कार्यालयद्वारा विनियोजित सात लाख रुपियाँ बजेटबाट राम मन्दिरवरपर फूलको क्यारी, भान्साघर र पूजाको हवन कुण्ड निर्माण सुरु भएको छ।

सङ्घीय सरकारबाट अपेक्षित बजेट नपाए पनि वडा कार्यालयको क्षमताअनुसार प्राथमिकता दिएर बजेट विनियोजन गरेको वडाध्यक्ष घनश्याम दवाडीले जानकारी दिनुभयो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् श्रीरामको जन्मस्थानका रूपमा माडीलाई चिनाउँदै राम, सीता, लक्ष्मण र हनुमानको प्रस्तर मूर्ति प्रतिस्थापित गर्नुभएको थियो। 

यद्यपि सो समयपछि सङ्घीय र प्रदेश सरकारको पर्याप्त ध्यान नपुग्दा अपेक्षित काम हुन सकेको छैन। सङ्घीय सरकारले ध्यान नदिएको भन्दै वडाध्यक्ष दवाडीले स्थानीय र वडाकै तहबाट भए पनि यथासम्भव निर्माण एवं प्रचारप्रसारको पहल गर्न थालिएको बताउनुभयो। मूर्ति स्थापना भएदेखि बेलाबखत पूजा र मेला उत्सव आयोजना हुने गरेको भए पनि गुरुयोजनाअनुसारको मन्दिर निर्माण कार्य भने सुरुवात हुनै बाँकी छ। चितवनको माडीमा अयोध्याधाम निर्माण गर्न प्रधानमन्त्री कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र माडी नगरपालिकाको समन्वयमा गुरुयोजना तयार गरिएको छ।

अयोध्याधामको गुरुयोजनाअनुसार काम सम्पन्न गर्न दुई अर्ब ५० करोड रुपियाँदेखि तीन अर्ब रुपियाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ। भगवान् श्रीरामको भव्य मन्दिर निर्माणका साथै राजा दशरथले राज्य सञ्चालन गरेको दरबार, धर्मशाला, घोडसार, उद्यान तथा आधुनिक बसपार्क, विवाहमण्डप र वाल्मीकि आश्रम निर्माण गुरुयोजनामा समेटिएको छ।

यस्तै लक्ष्मण वाटिका, अशोक वाटिका र जटायु पार्क निर्माणलाई पनि गुरुयोजनामा समेटिएको छ। नेपालका चारै धाम पशुपति, वराह, मुक्तिनाथ र रिडीको मन्दिर निर्माणलाई पनि गुरुयोजनामा समावेश गरिएको छ। 

अयोध्याधामको चरणबद्ध विकास गर्ने योजनाअनुरूप पहिलो चरणमा राम, सीता, लक्ष्मणको मन्दिरसँगै गणेश र भगवतीको मन्दिर निर्माण अगाडि बढाउन प्रस्ताव गरिएको छ। चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि वडा नं. ८ र ९ को सिमानामा अयोध्यापुरीधाम निर्माणका निम्ति हालको अयोध्यापुरी उद्यानको सय बिघा जग्गा छुट्याएको छ।