• १२ मंसिर २०८१, बुधबार

निम्नवर्गीय परिवारलाई घर

blog

चितवन समाचारदाता

चितवन, माघ १२ गते । चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिकाभित्र रहेका अति विपन्न परिवारको घर निर्माण गरिदिने भएको छ। गाउँपालिकाले आफ्नै स्रोत तथा विभिन्न सङ्घ/संस्थाहरूसँगको सहयोगमा गाउँपालिकाभित्रका अति विपन्न परिवार पहिचान गरी घर निर्माण गर्ने तयारी थालेको हो। 

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ र उपाध्यक्ष माया सिलवालसहितको एक टोली इच्छाकामना गाउँपालिका–७, ढाँडबारीमा पुगी अवलोकन गर्नुभएको छ। उक्त गाउँका विपन्न परिवारको घर निरीक्षण गर्दै गाउँपालिका अध्यक्ष गुरुङले तत्काल घर निर्माणका लागि सामग्री उपलब्ध गराउने जानकारी दिनुभयो। अध्यक्ष गुरुङले घर निर्माणका लागि आवश्यक सामग्री गाउँपालिकाले उपलब्ध गराइदिने भन्दै श्रमदान गर्न स्थानीयलाई अनुरोध गर्नुभयो। 

उहाँले भन्नुभयो, पहिलो चरणमा अत्यन्तै आर्थिक अवस्था कमजोर भएकालाई प्राथमिकता राखेर घर निर्माणका लागि सामग्री दिन्छौँ। त्यसपछि वर्ग हेरेर मापदण्ड तोकेर घर बनाउन नसक्नेहरूका लागि फुसको छाना हटाउने गरी कार्यक्रम ल्याउने छौँ। यसैगरी केही घरहरू भने नमुना बस्ती निर्माण कार्यक्रमअन्तर्गत निर्माण गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो।