• १८ असार २०८२, बुधबार

राँगा साट्ने किसानलाई एक लाख जरिवाना

blog

अविनाश चौधरी 

धनगढी, माघ १२ गते । पाडा दिएर राँगा साटेका कैलालीका एक किसान प्रहरीको नियन्त्रणमा पुगेका छन्। त्यति मात्रै होइन, उल्टै एक लाख रुपियाँ जरिवानासमेत तिरेका छन्। 

घटना विवरणअनुसार भजनी नगरपालिका–३, काँढा गाउँका ६० वर्षीय कल्लु डङ्गौराले धनगढी उपमहानगरपालिका–१६, घसिटास्थित प्रेमलाल रानालाई पाडा दिएर एक हल राँगा साट्नुभएको थियो।

 ती राँगा भारतबाट तस्करी गरेर ल्याएको भन्दै नेपाल प्रहरीले भजनी नगरपालिका–७ को हिम्मतपुरस्थित हुलाकी सडकबाट कल्लुलाई पक्राउ गरेको थियो। शनिबार पक्राउ गरिएका डङ्गौरालाई इलाका प्रहरी कार्यालय भजनीमा एक रात थुनेर आइतबार सत्ती भन्सार कार्यालय बुझाइएको थियो। भन्सारमा मान्छेको ७० हजार र कबोलमार्फत राँगाको ३० हजार गरी एक लाख रुपियाँ तिरेपछि डङ्गौरा छुट्नुभएको छ। 

डङ्गौरालाई हलो जोत्ने राँगा मिलाइदिने काम भजनी नगरपालिका–२, रजवारामा रहेको मग्बुल जागाको रिवान पशु एन्ड ट्रेड सप्लायर्सले गरेका थिए। 

वैधानिक रूपमा फर्म दर्ता गरी लाइसेन्स लिएर आफूहरूले पशु किनबेचको काम गर्दै आएकाले घसिटामा डङ्गौराका लागि राँगा मिलाइदिएको सप्लायर्सका प्रोप्राइटर मग्बुल जागाले बताउनुभयो। उहाँले भन्नुभयो, “गाउँ–गाउँ गएर पशु किनबेच गर्ने हाम्रो कामै हो। हामीले राज्यलाई कर तिरेर व्यवसाय गरिरहेका छौँ। एक डेढ हजार रुपियाँ लिने गरी हाम्रो मान्छेले कल्लुलाई राँगा मिलाइ दिएका थिए।”

नेपालबाटै साटेर राँगा ल्याउँदा भारतबाट तस्करी गरेको भन्दै प्रहरीले पक्राउ गरेर किसानलाई दुःख दिएको जागाको भनाइ थियो। सोही दिन नै भजनीकै पशु व्यवसायी जाहिर अलीको एक जोर पाडा पनि प्रहरीले पक्राउ गरेको थियो। व्यवसायी अलीका भाई र सहयोगी कैलारी गाउँपालिका–७, का सोमै चौधरीलाई दुई पाडासहित कैलारी गाउँपालिका–५, बैजपुरबाट पक्राउ गरिएको हो।  

धनगढी उपमहानगरपालिकाको फूलबारीस्थित जे गाउँका रामप्रसाद चौधरीको घरमा बूढा राँगासँग साट्नका लागि पाडा लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको भजनी नगरपालिका–३, काँढावासीसमेत रहनुभएका अलीले बताउनुभयो। 

उहाँले भन्नुभयो, “हामीले भन्सार छलेर तस्करी गरेको होइन। बूढा राँगासँग साट्नका लागि पाडा लगिरहेका बेला पक्राउ गरिएको हो। पशु हाट बजारबाट पाडा किनेको कागजात, बिल, वडाको सिफारिस सबै थियो। तर, प्रहरी प्रशासनले हाम्रो कागजातै नहेरी भन्सार पु-यायो।” 

दुई पाडासहित पक्राउ परेका दुई जनालाई इलाका प्रहरी कार्यालय हसुलिया हुँदै जिल्ला प्रहरी कार्यालय धनगढी पु-याइएको थियो। जिल्ला प्रहरी कार्यालयले उनीहरूलाई त्रिनगर भन्सारमा बुझाएको थियो। भन्सारमा दुई व्यक्तिको ८०/८० हजार गरी एक लाख ६० हजार र कबोलमार्फत पाडाको २१ हजार ५०० रुपियाँ तिरेको अलीले बताउनुभयो। 

फर्म दर्ता गरेर आफ्नो परिवारले बाजेको पालादेखि पशु खरिदबिक्रीको काम गर्दै आएको अलीको भनाइ थियो। जे गाउँका रामप्रसाद चौधरीको राँगासँग साट्न खोजेका पाडा अलीले बाँकेको जानकी गाउँपालिकास्थित रमुवापुरबाट खरिद गरेर ल्याएको बताउनुभयो। पशु हाटबजारबाट किनेर वा किसानबाट किनेको पाडा/राँगा जोरा मिलाएर किसानलाई नै बिक्री गर्ने गरेको पशु व्यवसायी अलीको भनाइ छ। 

भजनी नगरपालिका–३ का वडाध्यक्ष विक्रम चौधरीले जागाहरू कैयौँ पुस्तादेखि गाउँघरमा पशु किनबेच, साटासाटको काम गर्दै आएको बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले भन्सार छली केसमा राँगासहित मान्छे पक्राउ गरेर आवश्यक कारबाहीका लागि भन्सार पठाइएको बताउनुभयो।