नवलपरासी समाचारदाता
कावासोती, माघ १२ गते । सुगम जिल्लाका रूपमा परिचित भए पनि पूर्वी नवलपरासीका तीन गाउँपालिकाको १३ वडामा अझै राष्ट्रिय प्रसारणको बिजुली नपुग्दा स्थानीय अन्धकारमै दिन रात बिताउन बाध्य छन् । जिल्लाको तीन गाउँपालिका हुप्सेकोट, बुलिङटार र बौदीकालिका १३ वडा अझै पनि अन्धकारै रहेका छन् । यो वर्षभित्रै नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण पु-याउने काम दु्रत गतिमा अघि बढेको कावासोती विद्युत् प्राधिकरणका निमित्त प्रमुख निश्चल अधिकारीले बताउनुभयो ।
राष्ट्रिय प्रसारणबाट विमुख हुँदा अन्धकारमै बस्नुपर्ने बाध्यताबाट यो वर्षबाट यहाँका ५० हजार जनता लाभान्वित हुने अधिकारीले बताउनुभयो ।
हुप्सेकोट, बुलिङटार र बौदीकाली गाउँपालिकाका १३ वडाका ५० हजार जनता राष्ट्रिय विद्युत् पहुँचबाट पूरै विमुख छन् । स्थानीय जनकबहादुर रानाभाटले भन्नुभयो, “बुलिङटारमा बिजुली बाल्ने सपना धेरैले देखाए, चुनाव आउँछ, सबै दलको एउटै आश्वासन बिजुली बाल्ने र टुकीमा बसेर बिताएको जीवन अब उज्यालोमा बसेर बिताउने आश्वासन दिन्छन् ।”
यस्तो आश्वासन दिइएको ३० वर्ष पुग्यो । तर अझै पनि आश्वासन पूरा हुने लक्षण नदेखिएपछि बारम्बर दबाबबीच यो वर्षभित्र चाहिँ बिजुली बल्नेमा आशा पलाएको डाडाँझैरीका प्रेमसिंह लुङ्गेलीमगरले बताउनुभयो । अहिले राष्ट्रिय प्रसारणको बिजुली पु-याउन बिजुलीको पोल गाड्ने काम भइरहेको छ, कतै ट्रान्समिटर जडानको काम पनि भइरहेको र अब चाँडै बिजुली बाल्ने र उज्यालो नवलपुर अभियान सफल पार्न काम अगाडि बढेको नेपाल विद्युत् प्राधिकरण कावासोतीका निमित्त प्रमुख अधिकारीले बताउनुभयो ।
यहाँका ९२ वडामै बिजुली पु-याएर नवलपुर जिल्ला राष्ट्रिय प्रसारणसँग जोडिने भएका छन् । लघु जलविद्युत्मार्फत जेनतेन बिजुली बालेर जीवन बिताउन बाध्य त्यहाँका जनता अब भने चाँडै केन्द्रीय विद्युत् प्रसारणसँग प्रत्यक्ष जोडिने स्थानीय बुलिङटारका भविलाल रानामगरले बताउनुभयो ।
अहिले हुप्सेकोट, बुलिङटार र बौदीकाली गाउँपालिकाका १३ वडामा नेपाल विद्युत् प्राधिकरणले विद्युत् सेवा दिन प्रक्रिया सुरु गरेपछि भने पहाडी क्षेत्रका जनताले केही आशा पलाएको अनुभव गर्न थालेका बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो ।