• २३ भदौ २०८१, आइतबार

राष्ट्रपति निर्वाचन समयमै गर्न सांसदको जोड

blog

प्रतिनिधि सभा सदस्य सिके राउत, जनार्दन शर्मा, योगेश भट्टराई र प्रकाशशरण महत ।

काठमाडौं, माघ १० गते। राष्ट्रपति निर्वाचन समयमै गर्नुपर्नेमा विभिन्न दलका सांसदले जोड दिनुभएको छ। मंगलबार संसद बैठकपछि सञ्चारकर्मीसँगको जिज्ञासामा सांसदले यस्तो प्रतिक्रिया दिएका हुन्। 

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद जनार्दन शर्माले राष्ट्रपतिको सम्बन्धमा सत्तारुढ गठबन्धनमा समस्या नहुने बताउनुभएको छ। 

मंगलबार संसद बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उपमहासचिव शर्माले राष्ट्रपतिको सम्बन्धमा गठबन्धनका दलका बीचमा समस्या नहुने बताउनुभएको हो। उहाँले गठबन्धनमा मतभिन्नता भए पनि छलफल गरेर समाधान गर्न सकिने बताउनुभयो।

सञ्चारकर्मीको प्रश्नको जवाफ दिदैँ उहाँले सत्तारुढ गठबन्धनका नेताका बीचमा असमझदारी नभएको बताउनुभयो। गठबन्धन आफ्नो उद्देश्यमा केन्द्रीत रहेको उहाँको भनाइ छ। 

उहाँले भन्नुभयो, “पदावधि सकिनुभन्दा पहिल्यै राष्ट्रपतिको निर्वाचन हुनुपर्छ। दिन कतिबेला तोक्ने भन्नेकुरा मात्रै हो। अब अहिले जो बनेको गठबन्धन छ, गठबन्धनमा होलान्, केही मतभिन्नता हुनसक्छन्। ती समस्या छलफल गरेर समाधान गर्न सकिने स्तरका छन्।” 

त्यस्तै माओवादी केन्द्रका अर्का उपमहासचिव तथा सांसद शक्ति बस्नेतले राष्ट्रपतिको पदमा राष्ट्रिय सहमतिको प्रयत्न गर्नुलाई नकारात्मक रुपमा लिनु नहुने बताउनुभयो। सम्भव भएसम्म सहमतिको प्रयास गर्नु सकारात्मक कुरा भएको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, “सबै कुरामा राष्ट्रिय सहमति आफैंमा राम्रो कुरा हो। सम्भव भएसम्म सहमतिको लागि प्रयत्न गर्नुलाई अन्य धेरै कोणबाट हेर्नु जरुरी छैन। अहिलेको राष्ट्रिय आवश्यकताको कोणबाट सम्भव भएसम्म सहमतिको लागि प्रयास गरिने कुरालाई सकारात्मक रुपमा लिनुपर्छ।”

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले तोकिएको समयभित्रै राष्ट्रपतिको निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो। उहाँले केही समस्या भएमा निर्वाचन आयोगले समाधान गर्नुपर्ने बताउनुभयो। 

भट्टराईले भन्नुभयो, “संविधानले राष्ट्रपतिको कार्यकाल पाँच वर्ष भनेपछि त्यो भन्दा बढी जान मिलेन। पाँच वर्षको समयअवधिभित्र राष्ट्रपतिको निर्वाचन गर्ने। निर्वाचनको मिति निर्वाचन आयोगले तोक्ने हो। नेपाल सरकारको राय सल्लाहमा तोकेको मितिमा नेकपा (एमाले) तयार नै छ।”

निर्वाचन आयोगले छिटोभन्दा छिटो तोकिएको समयभित्र राष्ट्रपतिको निर्वाचन गराउनुपर्ने भट्टराईको भनाइ छ।  

उहाँले राष्ट्रपति पदका लागि विपक्षी दलका नेताले राष्ट्रिय सहमतिको कुरा गर्नु साँघुरो चिन्तन भएको टिप्पणी गर्नुभयो। राष्ट्रिय सहमति एजेण्डा र संवैधानिक प्रक्रियामा गर्नुपर्ने तर,  राष्ट्रिय सहमतिलाई हल्का रुपमा नलिन उहाँले आग्रह पनि गर्नुभयो। 

नेपाली कांग्रेसका प्रवक्ता तथा सांसद डा.प्रकाशशरण महतले समयमै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने बताउनुभयो। उहाँले राष्ट्रपति निर्वाचनलाई अनिश्चित र अन्यौल राख्नु नहुने बताउनुभयो। राष्ट्रपति निर्वाचनलाई समयमै टुंगो लगाउनुपर्नेमा उहाँको जोड छ। 

उहाँले भन्नुभयो, “समयमै राष्ट्रपतिको निर्वाचन हुनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो। सरकारको पनि हामीले ध्यानाकर्षण गराएका छौं। निर्वाचन आयोगलाई पनि हामी ध्यानाकर्षण गराउँछौ। यसलाई अनिश्चित गर्नुहुन्न। अन्यौल राख्नुहुन्न। समयमै यसलाई टुंगो लगाउनुपर्छ।”

यस्तै संसद भवन परिसरमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरुले उद्योग मन्त्रालय पाए मात्रै सरकारमा सहभागी हुने बताउनुभयो। 

उहाँले भन्नुभयो, “सहमति अनुसार मन्त्रालय हुनुपर्छ। उद्योग मन्त्रालय पायो भने हाम्रो एजेण्डा कार्यान्वयन गर्न सहज हुन्छ। हामी काम गर्नका लागि जाने हो। हामीलाई उद्योग मन्त्रालय दिने औपचारिक जानकारी छैन। हामी आशा गर्छौं कि अर्को मन्त्रिपरिषद् बैठकबाट यो कुरा टुंगिन्छ।”