केदार तिमल्सिना
काभ्रेपलाञ्चोक, माघ ९ गते । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रमा पर्ने महाभारत गाउँपालिका जोड्ने करिब नौ किलोमिटर सडक फराकिलोसहित दुई वर्षभित्र कालोपत्रे गर्ने लक्ष्य राखेर काम सुरु गरेको साढे दुई वर्ष बितिसक्दा पनि कामले गति लिन सकेको छैन।
बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा महाभारत गाउँपालिका जोड्ने तीनखुट्टे–देवीटार सडकको आठ किलोमिटर सात सय मिटर सडक दुई वर्षभित्र पूरा गर्ने गरी २०७७ असार मसान्तमा श्रेष्ठ सक्षम जेभीसँग ठेक्का सम्झौता गरेको थियो।
निर्माण कम्पनीले तीनखुट्टेदेखि देवीटारसम्मको सडक आठ मिटर फराकिलो बनाउने, सडकमा आवश्यक पर्ने पर्खाल, नालीलगायतका संरचना निर्माण गरी कालोपत्रे गर्ने सम्झौता भए पनि सडक विस्तार तथा कालोपत्रे गर्ने कामले गति लिन नसकेको हो। जनप्रतिनिधि निर्वाचित भएसँगै गाउँपालिकाले करिब दुई करोड रुपियाँको लागतमा सडकको ट्र्याक खन्ने काम सम्पन्न गरी सडक सञ्चालन गरेको थियो।
महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले प्रदेश सरकारले दुई वर्षभित्र गाउँपालिका जोड्ने सडक कालोपत्रे गर्ने लक्ष्यका साथ ठेक्का सम्झौता गरे पनि निर्माण कम्पनीले काममा चासो नदिएको आरोप लगाउनुभयो। उहाँले समयमै काम गर्नका लागि निर्माण कम्पनीलाई पटक–पटक ताकेता गरे पनि काममा चासो नदेखाएको बताउनुभयो। “समयमै काम सम्पन्न गर्न गाउँपालिकाले पहल गरे पनि निर्माण कम्पनीले चासो देखाएन।
दुई वर्षका लागि दिएको समय २०७९ असार मसान्तबाट सकिएको र अर्को एक वर्ष म्याद थप गरिएको जानकारी पाएका छौँ,” गाउँपालिका अध्यक्ष जिम्बाले थप्नुभयो। उहाँले निर्माण कम्पनीले पछिल्लो समय काम सुरु गरे पनि सुस्त गतिमा काम गर्दै आएको बताउनुभयो।
पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकका इन्जिनियर चन्द्रदेव भट्टले तीनखुट्टे–देवीटार सडक कालोपत्रे गर्ने ठेक्का पाएको कम्पनीले दुई वर्षदेखि सडक चौडा पार्ने, नाली बनाउने र ग्याबिन पर्खाल लगाउने काम सुरु गरेको बताउनुभयो। उहाँले सडक फराकिलो बनाउने काम भने पूरा नभएको बताउनुभयो। उहाँले निर्माण कम्पनीले सडक फारकिलो बनाउने तथा नाली र पर्खालको काम सकेपछि कालोपत्रेको काम सुरु हुने भन्दै सडक फराकिलो तथा कालोपत्रे गर्न चालू आर्थिक वर्षका लागि चार करोड ६० लाख रुपियाँ बजेट विनियोजन भएको बताउनुभयो।
उहाँले वर्षायामलगायतको कारण देखाउँदै ठेकेदार कम्पनीले काम सुस्त गतिमा गरेको बताउँदै निर्माण कम्पनीको म्याद गत असार मसान्तमा समाप्त भएपछि आगामी २०८० असार मसान्तसम्म एक वर्ष थप गरिएको बताउनुभयो। सडक फराकिलो बनाउने तथा कालोपत्रे गर्ने काम निर्माण कम्पनीले भ्याटसहित २५ करोड ८२ लाख १० हजार रुपियाँमा ठेक्कामा लिएको थियो।
महाभारत गाउँपालिका–४ का धनबहादुर बम्जनले दुई वर्षभित्र सडक फराकिलो बनाएर कालोपत्रे गरिसक्ने प्रतिबद्धता जनाए पनि हालसम्म सडकको कामले गति लिन नसकेको बताउनुभयो। “दुई वर्षभित्र सडक फराकिलो र कालोपत्रे हुन्छ भन्थे, अहिलेसम्म न सडक फराकिलो भयो न त सडक कालोपत्रे,” उहाँले थप्नुभयो। उहाँले सडक राम्रो नहुँदा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताउनुभयो।