• १२ मंसिर २०८१, बुधबार

भेटिए मौर्यकालीन सामग्री

blog

नारद कोहार

तौलिहवा, माघ ९ गते । राजा शुद्धोधनको राजदरबार एवं सिद्धार्थ गौतमले जीवनकालका प्रारम्भिक २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटमा थप मौर्यकालीन पुरातात्त्विक सामग्री फेलापरेका छन्। तिलौराकोटको मध्य भागमा रहेको मौर्यकालीन पोखरीको उत्खननमा आहात मुद्रा (पञ्च मार्क मुद्रा)समेत भेटिएको छ। सो पोखरीको उत्खनन विगतदेखि नै भए पनि अहिलेसम्म पञ्चमार्क मुद्रा त्यहाँ भेटिएको थिएन तर अन्य स्थानमा भने फेलापरेको थियो।

पोखरीको सन् २०१४ मा युनेस्को जापानिज फन्ड्स इन ट्रस्टको आर्थिक सहयोगमा पुरातत्व विभाग, बेलायतको दुरह्याम विश्वविद्यालय, लुम्बिनी विकास कोषलगायतको टोलीले भू–भौतिक सर्वेक्षण गरेको थियो। सर्वेक्षणबाट जमिनभित्र अलिकति धस्सिएको ३० गुणा ३० मिटर क्षेत्रफलको एउटा संरचना फेलापरेको थियो। उत्खननबाट नगरभित्र इँटाको गारो लगाइएको ठूलो पोखरी भेटिएको हो।

सो क्षेत्रको सन् २०१५ मा उत्खनन गर्दा जोगिएका २६ तहका इँटा भेटिएको र ती इँटाका तहहरू क्रम मिलाएर राखिएको पुरातत्वविद्ले बताएका छन्। पोखरीका कुनैकुनै इँटा ४५ सेन्टिमिटर लम्बाइका थिए। भेटिएको संरचनालाई रेडियो कार्बन तिथि निर्धारण गर्दा सो पोखरी मौर्यकालीन समयमा बनेको पुष्टि भएको पुरातत्व विभागका पुरातत्व अधिकृत भाष्कर ज्ञवालीले बताउनुभयो।

पोखरीको उत्खननमा तामाको अभिलेखसहितका मुद्रा, विभिन्न कालका नारीका मूर्ति, जनावरका प्रतिमा, माला, चुरा, विभिन्न कालका भाँडा, काला चम्किला माटाका भाँडाका टुक्रा, खैरा माटाका भाँडाका टुक्रा, सुंगाकालीन नारी मूर्ति, पाषाण तीर र लोहोरो–सिलौटोलगायतका महत्वपूर्ण वस्तु भेटिएको पुरातत्व अधिकृत ज्ञवालीले बताउनुभयो।

गत वर्ष दक्षिणतर्फ रहेको पर्खालको करिब १२ मिटरमा उत्खनन गरेकोमा यस वर्ष बाँकी रहेको ११ मिटर उत्खनन गरिएको उहाँले बताउनुभयो। उत्खनन गर्ने क्रममा दक्षिणतर्फको पर्खालको लम्बाइ २७ मिटर रहेको पाइएको अधिकृत ज्ञवालीले बताउनुभयो। विगतमा पोखरीको उत्खनन गर्दा २६ तहको इँटा भेटिएका थिए भने यस वर्ष गरिएको अध्ययन अनुसन्धानबाट यो पोखरी विभिन्न समयमा बनेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “विभिन्न समयमा बनेको २६ तहभन्दा बढी २७ देखि २८ तहसम्म पहिचान गर्न सफल भएको बताउनुभयो।”

ज्ञवालीका अनुसार प्राप्त पुरातात्त्विक सामग्रीका आधारमा उक्त क्षेत्र इसापूर्वमा नै व्यापारिक केन्द्रका रूपमा विकास भइसकेको थियो। त्यस कारण व्यापार विनिमयको प्रमुख माध्यमका रूपमा रहेको मुद्राको प्रचलन नेपालमा पनि इसापूर्व कालदेखि नै रहेको मान्न सकिन्छ। तर नेपालमै बनेका त्यस समयका मुद्रा हालसम्म प्राप्त भएका छैनन्। नेपालमा हालसम्म प्राप्त कानुनग्राह्य सर्वप्राचीन धातु मुद्रा नै आहात मुद्रा हो।

लुम्बिनी, प्राचीन कपिलवस्तु राज्यको राजधानी हालको तिलौराकोट र काठमाडौँ  उपत्यकाका विभिन्न ठाउँको पुरातात्त्विक उत्खननमा आहात मुद्रा प्रशस्त मात्रामा प्राप्त भएको पुरातत्वविद् बताउँछन्। ईसापूर्व ७/८औँ शताब्दीतिरबाट सुरु भएको मौर्यकालसम्म प्रचलनमा रहेका यी मुद्रा भारतीय भूभागबाट व्यापारको सिलसिलामा नेपाल आएको पुरातत्वविद्हरूको भनाइ छ।

सन् २०१८ मा पुरातत्व विभाग, लुम्बिनी विकास कोष तथा दुरह्याम विश्वविद्यालय यूकेको संयुक्त विज्ञ टोलीले तिलौराकोट कन्थक स्तूप क्षेत्रमा गरिएको उत्खननमा ४९७ आहात मुद्रा प्राप्त भएका छन्। साथै तिलौराकोट पुरातात्त्विक उत्खननमा कुषाणकालीन केही मुद्रा पनि प्राप्त भएका छन्। यी मुद्रा पनि व्यापारिक सिलसिलामा भारतबाट आएको मानिएको छ।