• १२ मंसिर २०८१, बुधबार

‘रेमिट्यान्स क्षेत्रलाई अझै व्यवस्थित बनाइन्छ’

blog

काठमाडौँ, माघ ९ गते । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नीतिगत तथा कानुनी सुधार गरेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण बनाउने बताउनुभएको छ। प्रवासी नेपाली मञ्च अमेरिकाले आयोजना गरेको रेमिट्यान्स र नेपालमा लगानी विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै पौडेलले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्र्याउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने अनुकूल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तत्पर रहेको बताउनुभएको हो। 

रेमिट्यान्सको ठूलो हिस्सा अझै वैधानिक प्रणालीमार्फत भित्र्याउन नसकिएको भन्दै मन्त्री पौडेलले यसको सुधारका लागि लिनुपर्ने नीति, गर्नुपर्ने निर्णय वा दिनुपर्ने प्रोत्साहनका कार्यक्रम ल्याउन सरकार तयार रहेको बताउनुभयो। “रेमिट्यान्सलाई उत्पादन, निर्माण र रोजगारीका नयाँनयाँ अवसर सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न सकिन्छ,” उहाँले भन्नुभयो।

गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी चासोप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै संविधानमा भएको व्यवस्थाअनुसार पूरा गर्ने गरी सरकारले काम गरिरहेको जानकारी दिनुभयो।

वैदेशिक लगानी तथा प्रविधिसम्बन्धी ऐेनले गैरआवासीय नेपालीलाई दिएको मान्यता संशोधन गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभएको थियो। 

नेपालको आर्थिक विकासमा प्रवासी नेपाली, गैरआवासीय नेपालीको अन्यन्तै ठूलो योगदान रहेको बताउँदै पौडेलले आगामी दिनमा अझ प्रभावकारी बन्ने अपेक्षा व्यक्त गर्नुभयो। कार्यक्रमका सहभागीले रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु-याएको बताउँदै नेपालको अर्थतन्त्रलाई मजबुत पार्न कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार, मानवीय संसाधन, औद्योगिकीकरण, सेवा क्षेत्र, सामाजिक सुरक्षालगायतमा जोड दिनुपर्ने सुझाव दिएका थिए।

“नेपालको आर्थिक विकासमा प्रवासमा रहेका प्रवासी नेपाली, गैरआवासीय नेपालीको अन्यन्तै ठूलो योगदान छ,” पौडेलले भन्नुभयो, “आउने दिनमा अझ प्रभावशाली हुँदै छ भन्ने अपेक्षा गरेको छु। रेमिट्यान्सका कोणबाट मात्र होइन, वैदेशिक लगानीका निम्ति पनि नेपालको सद्भावना दूतका रूपमा प्रत्येक प्रवासी र गैरआवासीय नेपालीले भूमिका खेलिदिनुस् भन्न चाहन्छु।” उहाँले नेपाल लगानीका निम्ति सुरक्षित गन्तव्य र प्रतिफल दिने स्थान रहेको बताउनुभयो।  

वैदेशिक लगानी तथा प्रविधिसम्बन्धी ऐेनले गैरआवासीय नेपालीलाई विदेशी नागरिकसरह लिएको विषयप्रति गैरआवासीय नेपालीले ध्यानाकर्षण गराएको जानकारी दिँदै उहाँले त्यस विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

गैरआवासीय नेपालीले नेपालमा आउँदा भिसा लिनुपर्ने विषयमा पनि ध्यान गएको भन्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले गैरआवासीय नेपालीको नागिरकतासम्बन्धी विषय समाधान गरेसँगै यो समस्या पनि समाधान हुने विश्वास व्यक्त गर्नुभयो। 

कार्यक्रमका सहभागीले रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु-याएको भन्दै नेपालको अर्थतन्त्रलाई मजबुत पार्न कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार, मानवीय संसाधन, औद्योगिकीकरण, सेवा क्षेत्र, सामाजिक सुरक्षालगायतमा जोड दिनुपर्ने सुझाव दिनुभएको थियो।