• १६ भदौ २०८१, आइतबार

प्रधानमन्त्री दाहालद्वारा नेत्री बललाई श्रद्धाञ्जलि

blog

पेरिसडाँडामा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माया बलको पार्थिव शरीरमा श्रद्धान्जली अपर्ण गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौं, माघ ८ गते। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका केन्द्रीय सदस्य माया बलको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार प्रधानमन्त्रीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो। 

काठमाडौँ मेडिकल कलेजमा उपचाररत बलको गए राति निधन भएको थियो। त्रिपन्न वर्षीया बल विगत तीन वर्षदेखि घाँटीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो।

सर्लाहीको हरिवन नगरपालिका–९ नयाँरोड घर भएकी बलको स्वास्थ्यमा जटिलता देखिएपछि केही दिन पहिलेदेखि काठमाडौँ मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो। 

दिवङ्गत बल माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र द्वन्द्वमा सर्लाही, सिन्धुली, महोत्तरी, रौतहटलगायतका जिल्लाको नेतृत्वमा रहेर काम गर्नुभएको थियो। नेतृ बलको पति, तीन छोरी र एक छोरा हुनुहुन्छ। पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलि दिइएपछि उहाँको पार्थिव शरीरको आजै अन्त्येष्टि गरिने बताइएको छ। रासस