• १३ असोज २०८१, आइतबार

जुनार र सुन्तला बिक्री नहुँदा किसान चिन्तित

blog

बाबुराम देवकोटा

माझकुभिण्डे (सिन्धुली), माघ ७ गते । सिन्धुलीको माझकुभिण्डेका किसानको बगैँचामै अझै पनि लटरम्मै जुनार र सुन्तला छन् । बिक्री हुन नसकेको जुनार र सुन्तलाले किसानलाई चिन्तित बनाएको छ ।

यस बेलासम्ममा कुल उत्पादनको एक चौथाइ मात्रै बाँकी रहनुपर्ने थियो । यसको उल्टो एक चौथाइ मात्रै बिक्री भएकाले किसान चिन्तित बनेका हुन् । 

गोलन्जोर गाउँपालिका–४, माझकुभिण्डेका जुनार किसान सुरेन्द्र ठकुरीले भन्नुभयो, “अहिले पनि ७५ प्रतिशत जुनार बगैँचामै छन् । नयाँ पालुवा आउने र फूल फुल्ने समय भइसक्यो ।  दिउँसो बाँदरबाट जोगाउन बारीको छेउमा टौवा बनाएर कुकुर बाँधेर रुँग्नुपरेको छ । चरा पनि झुम्मिएका छन् । राति निगालेलगायतका वन्यजन्तुले दुःख दिएको छ । हावा चल्दा हुरुरु झर्छ ।”

माझकुभिण्डेमा यो वर्ष जुनार उत्पादन बढेको छ । तर, अन्य जिल्लाबाट आएको जुनार सुन्तलाले बजार ओगट्दा स्थानीय उत्पादनको बिक्री ठप्पजस्तै रहेको उहाँको गुनासो छ । किसान ठकुरीका अनुसार रामेछाप, सोलुखुम्बु, धनकुटा, स्याङ्जाबाट आएको जुनार सुन्तलाले सिन्धुलीको बजार ओगटेको छ । बाहिरी जिल्लाबाट ल्याएको जुनार सुन्तला सस्तोमा बिक्री भई रहेकाले स्थानीय उत्पादनलाई ठूलो असर पु-याएको छ ।

किसान ठकुरीले धान, कोदो र मकै फल्ने खेतबारी मासेर १६ रोपनीमा जुनार र सुन्तलाको खेती गर्नुभएको छ । तीमध्ये ३५० बोट जुनार र सुन्तलाले फल दिँदै आएको र यो वर्ष १० लाख रुपियाँको जुनार सुन्तला बिक्री गरी सक्नुभएको छ । किसानले उत्पादन गरेको सुन्तला बगैँचामा नै प्रतिकेजी ११० देखि १२० रुपियाँ पर्ने र बाहिरी जिल्लाबाट ल्याइएको सुन्तला बजारमा बढी ९० रुपियाँमा बिक्री भइरहेकाले स्थानीय उत्पादनलाई ठूलो असर पु-याएको किसानको गुनासो छ । 

कुभिण्डेका जुनार किसान तथा जुनार विकास सङ्घ, सिन्धुलीका अध्यक्ष कर्णबहादुर आलेमगरका अनुसार यो वर्ष जुनार उत्पादन २० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । विगतमा यतिखेर २५ प्रतिशत जति मात्रै जुनार र सुन्तला बिक्री गर्न बाँकी हुन्थ्यो । जुनार र सुन्तला बिक्री नभएपछि कुहिएर जाने डरले किसान आत्तिन थालेका छन् । 

तीनकन्या, रतनचुरा, बासेश्वर, जलकन्या, मझुवा, दुम्जा, भुवनेश्वरीलगायतका ठाउँमा झन्डै आठ हजार किसानले व्यावसायिक रूपमा जुनारको खेती गर्दै आएका छन् । “बिक्री नभएपछि मूल्य घटाएर भए पनि किसानले जुनार र सुन्तला बिक्री गर्ने तयारी गरेका छन् । ढिलो बिक्री हुँदा गुणस्तर घट्दै जाने र अर्को वर्षको उत्पादन घट्छ,” उहाँले भन्नुभयो । मङ्सिर दोस्रो सातादेखि माघ अन्तिमसम्ममा जुनार सुन्तला टिपिसक्नुपर्छ । माघभरिमा टिप्न नसके अर्को वर्ष उत्पादन आधा पनि नहुने किसान बताउँछन् । 

माझकुभिण्डेमा मात्रै ४५ जनाभन्दा बढी किसानले व्यावसायिक रूपमा नै जुनार र सुन्तला खेती गर्दै आएका छन् । सबै किसानको अहिले दिनचर्या कुकुर लिएर बगैँचा रुँग्दै बित्ने गरेको किसान आलेमगरले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, जुनार सुपर जोन कार्यालयका अनुसार सिन्धुलीमा यो वर्षसम्म करिब १४ हजार हेक्टरमा जुनार खेती गरिएको छ । यसमध्ये ७५० हेक्टरमा छ हजार मेट्रिक टन जुनार उत्पादन हुने अनुमान गरिएको छ । स्थानीय तहका ७९ वटा वडामध्ये आठवटा वडामा व्यावसायिक रूपमा जुनार खेती हुँदै आएको छ । रतनचुरा, तीनकन्या, जलकन्या, बितिजोर, बासेश्वर, मझुवा र दुम्जालगायतका ठाउँ जुनार खेतीका लागि पकेट क्षेत्र रूपमा रहेका छन् ।