• १६ चैत २०८०, शुक्रबार

धनकुटामा सुस्तायो फुटबल गतिबिधि

blog

कविराज घिमिरे 

हिले, माघ २ गते । २०५५ सालबाट धनकुटामा सञ्चालन हुदै आएको सहिद भीमनारायण अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिता पूर्वी पहाडको पहिलो राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हो । 

यो प्रतियोगितामा ‘ए’ डिभिजन क्लब सहित देशका बिभिन्न क्लबको सहभागीता रहने यो प्रतियोगितामा  लामो समय सम्म सञ्चालनमा रह्यो । तर कोरोनाको कारण देखाउदै २०७६ सालवाट बन्द भएको यो प्रतियोगिता अझै सञ्चालन हुन सकेको छैन । 

पूर्वी पहाडमा पहिलो राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको फुटबल प्रतियोगिता गराउने जिल्ला हो धनकुटा । धनकुटामा २०५५ साल यता राष्ट्रियस्तरको प्रतियोगिता हुदै आएको छ । तर पछिल्लो समय धनकुटामा राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन नहुदा जिल्लाको समग्र खेल जगत नै सुस्ताएको महसुस हुन थालेको छ ।  

सहिद भीमनारायण अन्तर्राष्ट्रिय गोल्डकप जस्तै धनकुटाकै राजारानीमा हुने रारा गोल्डकप धनकुटाको अर्को राष्ट्रिय स्तरको प्रतियोगिता हो । यो पनि २०७६ साल यता सञ्चालन हुन सकेको छैन । सहिद रामालिहाङ्ग रिदिमाहाङ्ग महिला गोल्ड कप पनि राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता हो । यो पनि २०७६ यता सञ्चालन हुन सकेको छैन । 

यी सबै प्रतियोगिता कोरोना कारण देखाउदै बन्द भएका थिए । तर कोरोना हटेर अवस्था सहज हुदा समेत जिल्ला स्तरीय बाहेकका प्रतियोगिता सञ्चालन हुन सकेका छैनन् । जसले समग्र धनकुटाको खेलकुद जगतनै सुन्ताएको महशुस हुन थालेको फुटबल संघ धनकुटाका जिल्ला अध्यक्ष गोविन्द राई बताउनु हुन्छ । 

बन्द भएका प्रतिगोगिता मध्ये सहिद भीमनारायण अन्तर्राष्ट्रिय गोल्डकप र रारा गोल्डकप सञ्चालन गर्न पहल भइरहेको जिल्ला फुटबल संघ धनकुटाले जनाएको छ । धनकुटाबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न यो प्रतियोगिताले धेरैनै मदत गर्दै आएको छ । 

यी प्रतियोगिता नहुदा जिल्लाको समग्र खेलकुद क्षेत्रमा असर पुगेको सरोकारवालाको गुनासो छ । त्यसैले यी र यस्ता प्रतियोगिता सञ्चालन गर्न आवाज उठ्न थालेको छ । अब पुन: यी प्रतियोगिता सञ्चालनको लागि पहल गरीने फुटबल तथा खेलकुद संग सम्बन्धित संघसंस्थाका पदाधिकारीको भनाई छ । 

“हामिले यी दुई कप सञ्चालनको लागि पहल गरिरहेको छौ सम्भबन यी दुई प्रतियोगिता पुन हामि सञ्चालन गर्ने छौ ।” जिल्ला फुटबल संघ धनकुटाका अध्यक्ष मणि चेम्जोङ्ग भन्नु हुन्छ । 

जिल्लामा ठुला प्रतियोगिता सञ्चालन नहुदा खेलाडीलाई समेत समस्या पर्ने गरेको छ । राष्ट्रिय स्तरको प्रतियोगिता हुदा आफुलाई परिक्षण गर्ने तथा खेल सिक्ने अवसर पाउने गरेकोमा यस्ता प्रतियोगिता नहुदा ति अबसरबाट बञ्चीत हुनु परेको खेलाडिहरुको गुनासो छ । 

जिल्लामा राष्ट्रिय स्तरको प्रतियोगिता हुदा आफुलाई प्रमाणित गर्ने अबसरनै नपाएको खेलाडि अन्जना थुलुङ्गको भनाई छ । धनकुटा फुटबलको लागि उर्बर भुमी पनि हो । यिनै प्रतियोगिता मार्फत धनकुटाले राष्ट्रिय स्तरका खेलाडी समेत उत्पादन गदै आएको छ । 

धनकुटाबाट किरण चेम्जोङ्ग, बुद्ध चेम्जोङ्ग, सुजल श्रेष्ठ लक्ष्मी नारायण श्रेष्ठ लगायतका राष्ट्रिय स्तरमा ख्यातिप्राप्त खेलाडीे समेत जन्माइसकेको छ । त्यस्तै अहिले बिभिन्न उमेर समुहमा धिरज बिक, पदम भट्टराइ आदिले खेलिरहेका छन् । यता श्रृजना चेम्जोङ्ग, अन्जना थुलुङ्ग, तिर्थ कुमारी रा, बिनिता लिम्बु  बिभिन्न क्लब तथा राष्ट्रिय टिमबाट सहभागिता जनाइसकेका छन् ।