• २१ वैशाख २०८१, शुक्रबार

चालीस हजार उठाउन पचास हजार खर्च

blog

हुम्ला, माघ १ गते । नेपाल र चीनको सिमाना हिल्सामा रहेको यारी नाका भन्सार कार्यालयले आम्दानीभन्दा बढी खर्च गरेर राजस्व असुली गर्नु परेको छ । 

हिल्सामा रहेको भन्सार कार्यालय बन्द रहने गर्छ । सामान आयात निर्यात हुने अवस्थामा सदरमुकाम सिमकोटबाट कर्मचारी जाने गर्छन् । यसरी नियमित रूपमा भन्सार कार्यालय नखुल्ने भएकाले  सामान आउने भएपछि

मात्रै कर्मचारी सदरमुकामबाट हिल्सा जाने गरेका हुन् । यसो गर्दा आम्दानीभन्दा खर्च बढी बेहोर्नु परेको हो । 

हिल्सामा रहेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले पुस १३ गते चीनबाट आयात भएको व्यापारीको सामान जाँचपास गर्न जाँदा आम्दानीभन्दा बढी खर्च भएको बताउनुभयोे । उहाँले हिल्सा नाकाबाट भित्रिएको १८ गाडी सामानको भन्सार महसुल ४० हजार रुपियाँ असुल भएको र आफू हिल्सा जाँदा आउँदा ५० हजार रुपियाँ यातायात खर्च भएको बताउनुभयो । 

सिमकोटबाट हिल्सा पुुग्न एक दिन लाग्ने र एक दिनको भाडा जिप सञ्चालकले २५ हजार रुपियाँ लिने गरेका छन् । सामानको भन्सार असुली गर्न जाँदा आउँदा कर्मचारीका लागि यातायात खर्च ५० हजार रुपियाँ लागेको थियो । 

हिल्सा र सिमकोटका व्यापारीको पहलमा पुस १३ गते एक दिन चीनबाट खाद्यान्न, लत्ताकपडा, विकास निर्माणका सामग्री आएको थियो । 

प्रमुख जिल्ला अधिकरी सीता परियारले फाइदा मात्रै भन्दा पनि भन्सार महसुल उठाउने कुरामा राज्यको उपस्थिति महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले कर्मचारी हिल्सा आउजाउ गर्ने खर्च भन्सार कार्यालयसँग नभएका कारण आफ्नो समन्वयमा गाडीको व्यवस्था गर्नुपरेको बताउनुभयो । 

चिनियाँ पक्षले व्यापारिक प्रयोजनका सामान आवश्यक परे व्यापारीसँगको समन्वयमा अरू पनि पठाउन सकिने बताएपछि अहिले कार्यालय प्रमुख जैसी पुनः हिल्सातर्फ लाग्नुभएको छ ।  

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।