काठमाडौं, पुस २५ गते । सरकारले परिवार योजनासम्बन्धी समस्या समाधान गर्न हेल्पलाइन सेवा सञ्चालन ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
सुरक्षित मातृत्व तथा नवजात शिशु स्याहार, परिवार योजना, सुरक्षित गर्भपतनलगायत प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श तथा जानकारीका लागि नेपाल सरकार र सरोकारवाला निकायहरूले हेल्पलाइन सञ्चालनमा ल्याएका हुन् ।
मेरी स्टाप्सले ११४३ एनटिसी र एनसेल प्रयोगकर्ताका लागि बिहान ७ देखि १२ बजेसम्म सञ्चालनमा ल्याएको छ । त्यसैगरी, नेपाल परिवार नियोजन सङ्घ १६६००१४५००० एनटिसी प्रयोगकर्ताका लागि बिहान ७ देखि बेलुका ७ बजेसम्म सञ्चालनमा ल्याएको छ ।
सिस्टर ममता(आईभिआर सेवा) एनटिसी १६६००१००४५५, एनसेल ९८०१५७२०२० हेल्पलाइन सञ्चालनमा ल्याएको छ ।
स्थायी बन्ध्याकरण सेवामा पुरुष बन्ध्याकरण र महिला बन्ध्याकरण पर्दछन् । सन्तानको रहर पुगेमा सही परामर्श लिई आफूलाई उपयुक्त लाग्ने परिवार योजनाका साधान प्रयोग गरी अनिच्छित गर्भ बस्न नदिन आग्रह गरेको छ ।
सरकारले देशभरिका स्वास्थ्य संस्थामा परिवार योजनासम्बन्धी परामर्श र सेवासँगै कण्डम, पिल्स, डिपो, ईम्प्लान्ट, आईयुसीडी जस्ता गर्भ निरोधक साधानहरु निःशुल्क वितरण गर्दै आएको छ ।
यदि कसैलाई परिवार योजनासम्बन्धी सेवा वा साधान आवश्यक परेमा नजिकैको स्वास्थ्य संस्थामा गई लिन सरकारकारले आग्रह गरेको छ ।