• १३ पुस २०८२, आइतबार

स्वास्थ्य संस्था बन्द, बाटो कुर्दै बिरामी

blog

बाजुरा समाचारदाता

बाजुरा, पुस २५ गते । बाजुराको बडीमालिका नगरपालिकाका पाँचवटा सहरी स्वास्थ्य संस्था लामो समयदेखि बन्द रहेका छन्। स्वास्थ्य संस्था बन्द भएपछि स्थानीयले स्वास्थ्य जाँच र उपचारमा समस्या बेहोर्दै आएका छन्। बडीमालिका नगरपालिकाको १३औँ कार्यपालिका बैठकले ती संस्थाका करार कर्मचारीको म्याद नथप्ने निर्णय गरेपछि स्वास्थ्य संस्था कर्मचारी विहीन हुँदा सेवा प्रभावित बनेको हो।

बडीमालिका नगरपालिका–१ को पाटा सहरी स्वास्थ्य केन्द्र, पिनालेख सहरी स्वास्थ्य केन्द्र वडा नम्बर ९ को मेलकाँध सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर ५ को मना सहरी स्वास्थ्य केन्द्र र वडा नम्बर ६ को कोर्ध सहरी स्वास्थ्य केन्द्र तीन हप्तादेखि बन्द अवस्थामा छन्। 

बडीमालिका नगरपालिका–१, पाटाका स्थानीय लालबहादुर हमालले चिसोका कारण गाउँमा रुघाखोकी आउँमासी, झाडापखाला, निमोनियालगायतका बिरामी बढ्दै गएको बताउनुभयो। स्वास्थ्य संस्था तीन हप्तादेखि बन्द हुँदा उपचारमा समस्या भएको हमालले बताउनुभयो।

संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ भनेर स्वास्थ्यलाई मौलिक हकका रूपमा स्थापित गरेको छ। कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनेर संविधानमा उल्लेख गरिए पनि स्थानीय तहले करार स्वास्थ्य कर्मचारी एकै पटक हटाएर स्वास्थ्य उपचारमा खेलवाड गरिएको हमालले बताउनुभयो। उहाँले सहरी स्वास्थ्य केन्द्र बन्द भएपछि सामान्य जाँच र उपचारका लागि जिल्ला स्वास्थ्यमै जानु पर्ने बाध्यता स्थानीयलाई रहेको बताउनुभयो। 

बडीमालिका नगरपालिका स्वास्थ्य संयोजक टेकबहादुर खड्काले कर्मचारी नभएकाले ती सहरी स्वास्थ्य बन्द भएको बताउनुभयो। उहाँका अनुसार सहरी स्वास्थ्य केन्द्रमा नयाँ कर्मचारी राख्न पालिकाले विज्ञापन खोलेको छ। दुई चार दिनभित्रै सबै स्वास्थ्य संस्थामा कर्मचारी पुग्ने बताइन्छ।