• ११ मंसिर २०८१, मङ्गलबार

अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन

blog

कैलालीमा रहेको क्रसर उद्योग । तस्बिर : शेरबहादुर ऐर

अविनाश चौधरी

धनगढी, पुस २४ गते । जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा अवैध रूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । 

प्रशासनले आइतबार सूचना जारी गर्दै नवीकरण नगरिएका तथा कानुन बमोजिम मापदण्ड पालना नगरेका क्रसर उद्योग तत्काल बन्द गर्न क्रसर उद्योगीहरूलाई निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित अनुगमन टोलीले क्रसर उद्योगको अनुगमन गरिरहेको छ । 

अनुगमन गरिएकामध्ये गोदावरी नगरपालिका–६ लालपुरमा रहेको शिव शक्ति बालुवा प्रशोधन केन्द्रले नियम विपरीत गिट्टी पनि प्रशोधन गर्दै भेटिएको थियो । यसै गरी, धनगढी उपमहानगरपालिका–११ स्थित बेलामा रहेको कालिका कन्स्ट्रक्सन र बासखेडामा रहेको उच्चा कोटी आरएमसी इन्जिनियरिङले अनुमति बिना नदीजन्य पदार्थ उत्खनन गरिरहेको भेटिएको थियो । अनुगमनको क्रममा दर्ता नगरी सञ्चालनमा रहेका, नवीकरण नगरेका र विकास निर्माण आयोजनाको काम सम्पन्न भएपछि पनि क्रसर सञ्चालनमा रहेको पाइएकोले त्यस्ता क्रसर उद्योग बन्द गर्न प्रशासनले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी किरण थापाद्वारा जारी सूचनामा उल्लेख छ ।  

साथै, इजाजत प्राप्त भएका क्रसर उद्योगहरूले पनि सञ्चालन सम्बन्धी सम्पूर्ण प्रमाणपत्र-कागजातहरूको सक्कल र छाँयाप्रतिहरु तयारी अवस्थामा राख्न र उद्योग स्थलमै अनुगमन समितिलाई पेस गर्न प्रशासनले आग्रह गरेको छ ।