काठमाडौँ, पुस २४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले एउटा पनि नराम्रो काम नगर्ने र गर्न पनि नदिने बताउनुभएको छ । महेन्द्र माध्यमिक विद्यालयमा शनिबार एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “तेस्रो कार्यकाल मेरानिम्ति चुनौतीपूर्ण अवसर हो । म एउटा पनि नराम्रो काम नगर्ने र गर्न नदिनेमा सचेत छु ।”
सिङ्गो देशले सरकारलाई आशाको नजरले हेरिरहेको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नभुयो, “जनताको आशालाई सम्बोधन गर्न तपाई हामी सबै गम्भीर र जिम्मेवार हुनुपर्छ ।” उहाँले आफ्नो पहिलो कार्यकालमा नयाँ नेपालको मार्गचित्र प्रस्तुत गर्दै विकास र समृद्धिको विजारोषण गरेको दाबी गर्नुभयो ।
किसानलगायत जनताको ऋण मिनाहा र सामाजिक न्याय स्थापित गर्नमा पहिलो पटक प्रधानमन्त्री हुँदा आफूले जोड दिएको उहाँले बताउनुभयो । दोस्रो कार्यकालमा संविधान कार्यान्वयन, आर्थिक समृद्धि, सङ्घीयताको जग बसाल्ने कामका लागि पहल भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “तेस्रो कार्यकाल विगतभन्दा नमुना बनाउनुपर्नेछ । त्यसैले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गर्नेछ ।”
प्रधानमन्त्री प्रचण्डले सङ्घीय शिक्षा ऐन जारी गर्ने काम सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो सरकारको कार्यकालमा पनि सङ्घीय शिक्षा ऐनका केही काम भएका छन् । तर ऐन जारी भएन । यस पटक सङ्घीय शिक्षा ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा छ ।”
राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणमा शिक्षकको अहम् भूमिका रहेको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सामाजिक चेतना, राजनीतिक जागरण र राजनीतिक एवं सामाजिक उत्तराधिकारी निर्माणमा शिक्षकको महत्वपूर्ण योगदान रहँदै आएको छ । यसमा हामीले गर्व गर्नुपर्छ ।”
पार्टी एकता विषयमा छलफल
यसैबीच नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । दुई पार्टी एकताको प्रक्रियालाई अघि बढाउने विषयमा पनि छलफल भएको थियो । छलफललगत्तै माओवादी केन्द्रले पार्टी एकीकरणका लागि कार्यदल बनाएको छ ।
वार्ताटोली गठन
यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) वामपन्थी दलरूसँग एकताका लागि पहल गर्न वार्ताटोली गठन गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले वार्ताटोली गठन गरेको हो । टोलीमा उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा गठित पाँच सदस्यीय वार्ताटोलीमा महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’, सचिवहरू शक्ति बस्नेत र गिरिराजमणि पोखरेल हुनुहुन्छ । महासचिव गुरुङका अनुसार वार्ताटोलीले माओवादी केन्द्रसँग एकताका लागि सबै कम्युनिस्ट पार्टीसँग छलफल गर्नेछ । टोलीले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी, नेकपा बहुमतलगायत सबै वामपन्थी दलसँग एकताका लागि छलफल र वार्ता गर्नेछ ।
महासचिव गुरुङले भन्नुभयो, “कम्युनिस्टसँग पार्टी एकताका लागि वार्ता गर्छौं, वार्ताटोली एकताका लागि बनाइएको हो ।” बैठकले प्रधानमन्त्री ‘प्रचण्ड’लाई विश्वासको मत प्रदान गर्नका लागि सबै दल तथा सांसदलाई पार्टीका तर्फबाट आह्वान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ ।