• १२ मंसिर २०८१, बुधबार

ललितपुर महानगरको हिउँदे नगरसभा : एक अर्ब १५ करोड पुरक बजेट पारित

blog

ललितपुर महानगरको हिउँदे नगरसभा

ललितपुर, पुस २१ गते । ललितपुर महानगरले एक अर्ब १५ करोड पुरक बजेट पारित गरेको  छ । महानगरको बिहीबार सम्पन्न हिउँदे नगरसभाले उक्त पुरक बजेट पारित गरेको हो । नगरसभामा उपप्रमुख मंजली शाक्यले पुरक बजेट प्रस्तुत गरेकी थिइन् । 

अब  ललितपुर महानगरको आर्थिक वर्ष २०७९–२०८०को कूल बजेट सात अर्ब ५० करोड भएको  छ । गत असारमा सम्पन्न नगरसभाले आब २०७९–२०८०का लागि ६ अर्ब ३५ करोड बजेट पारित गरेको थियो ।

फोहोर मैला प्रशोधन केन्द्र स्थापनाका लागि जग्गा अधिग्रहण, स्लटर हाउसका लागि जग्गा खरिद, वडा नंं. ५ को वडा कार्यालय निर्माणका लागि जग्गा खरिद, ब्लड बैंकको लागि सामग्री व्यवस्थापन, सडक स्तरोन्नति, प्रत्येक वडामा योग कक्षा स्थापना गर्न, सडक स्तरोन्नतिलगायतका क्षेत्रका पुरक बजेट खर्च गरिने नगरसभामा बताइएको छ । 

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जनचाहना अनुसारका थप विकास निर्माणको काम आवश्यक भएकाले पुरक बजेट ल्याएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘‘नगरबासीको आवश्यकता र माग संबोधन होस् भनेर बजेट ल्यायौं , दत्तचित्त भएर बजेट कार्यान्वयनमा लाग्नुस् ।’’ 

उपप्रमख मञ्जली शाक्यले सकारात्मक र सही ढंगले बजेट कार्यान्वयन गर्न सबैलाई अनुरोध गर्नुभयो। 

नगरभित्रका समस्या र आवश्यकता सम्बोधन गर्न नगरसभा महत्वपूर्ण मञ्च भएको उहाँको भनाइ छ । 

प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले ललितपुर महानगर हिउँदे नगरसभा गर्ने सम्भवत पहिलो स्थानीय तह भएको दाबी गर्नुभयो ।

स्थानीय शासन संचालन ऐन २०७४ मा नगरसभा दुई पटकसम्म गर्न सकिने भनी उल्लेख गरिएको छ । 

असारको नगरसभाले बजेट पारित गर्ने भएकाले त्यसलाई अनिवार्य नगरसभा भनिन्छ । हिउँद अर्थात विशेषगरी पुसमा गरिने नगरसभामा बजेट, कार्यक्रम र योजनाहरुका बारेमा छलफल गरिन्छ । 

प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले  सुशासन कायम भएको पुष्टि पनि हो, नगरसभा हुनु भनेको ,वर्षमा दुईपटक हुनैपर्छ भन्नुभयो ।