बनेपा समाचारदाता
बनेपा, पुस २१ गते । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा काभ्रेपलाञ्चोक जिल्लाको दुवै निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका सबै उम्मेदवारले आफ्नो निर्वाचन खर्च बुझाएका छन् ।
जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकमा निर्वाचनको खर्च विवरण बुझाएका उम्मेदवारमध्ये १२ उम्मेदवारले निर्वाचनमा कुनै खर्च नगरेको भन्दै विवरण बुझाएका छन् । जिल्ला निर्वाचन अधिकारी उमेश राईले कार्यालयमा निर्वाचनको खर्च विवरण बुझाएका ६४ उम्मेदवारमध्ये नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन, नेकपा माले, स्वतन्त्रलगायतका बाह्र उम्मेदवारले निर्वाचनमा कुनै खर्च नगरेको विवरण बुझाएको बताउनुभयो ।
उहाँले प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेमकिपाको तर्फबाट उम्मेदवारी दिनुभएको पूर्णसिंह तामाङ र प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार कृष्णकुमार वैद्यले निर्वाचनमा कुनै रकम खर्च नभएको विवरण बुझाएको बताउनुभयो । यसैगरी निर्वाचनमा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिनुभएका सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विजय तामाङ र स्वतन्त्र उम्मेदवारी दिनुभएका शेषराज लामिछाने तथा प्रतिनिधि सभा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार राजन घोरासाइनेले निर्वाचनमा कुनै रकम खर्च नगरिएको विवरण बुझाउनुभएको छ ।
त्यसैगरी जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश सभा (क)का उम्मेदवार नेमकिपाका प्रज्ञान अस्तानी, प्रदेश (ख)का उम्मेदवार नेमकिपाका कृष्णबहादुर तामाङ, प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा (क)मा नेमकिपाका उम्मेदवार सूर्यलाल तामाङ, प्रदेश सभा (ख)का उम्मेदवार मुना तामाङ र नेकपा (माले)बाट प्रदेश सभा (ख)मा उम्मेदवार दानबहादुर थापाले पनि कुनै रकम खर्च नभएको विवरण निर्वाचन कार्यालयमा दिनुभएको छ ।
यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा (क)मा मङ्गोल नेसनल अर्गनाइजेसनबाट उम्मेदवारी दिनुभएका चन्द्रमान लामा र प्रदेश सभा (ख)मा उम्मेदवारी दिनुभएका जनकबहादुर तामाङले निर्वाचनमा कुनै खर्च नभएको भन्दै विवरण पेस गर्नुभएको निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
यसअघिका निर्वाचनमा भएको खर्च विवरण बुझाउन उम्मेदवारहरूले आनाकानी गरे पनि यस पटक भने निर्वाचन आयोगको कारबाहीको डरले सबै उम्मेदवारले समयसीमाभित्रै खर्च विवरण बुझाउनुभएको छ ।
निर्वाचन आयोगले जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकालाई पुस १५ गतेभित्र निर्वाचन खर्च विवरण बुझाउने समयसीमा दिएको थियो ।
काभ्रेमा उम्मेदवार बनेका प्रतिनिधि सभा क्षेत्र नम्बर १ का १४ जना, प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा (क) र (ख)का नौ÷नौ जना, प्रतिनिधि सभा क्षेत्र नम्बर २ का १३ जना, प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा (क)का छ जना र प्रदेश सभा (ख)का सात जनाले निर्वाचन खर्च विवरण बुझाउनुभएको छ ।