जानु पाण्डे
कपिलवस्तु, पुस २० गते । कपिलवस्तुमा पछिल्लो ४ महिनामा मापसेगरी सवारी साधन चलाउने ३ सय ६१ चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । मापसे गरी सवारी साधन चलाउन निरुत्साहित गर्न चलाएको अभियानमा सो कारवाही गरिएको प्रहरीको भनाइ छ ।
मापसे गर्ने चालकलाई पहिलो पटक एक हजार रुपियाँ जरिवाना गरिएको प्रहरीको भनाइ छ । जरिवाना गरेर भएपनि चालकलाई मापसे नगर्नेतर्फ सचेत गराउने प्रहरीले जनाएको छ । मापसे गरी सवारी साधन चलाउनेमा सबैभन्दा धेरै मोटरसाइकल चालक छन् । २ सय १८ मोटरसाइकल चालक मापसेमा परेका थिए । यसैगरी ३७ ट्रक चालक, ९० कार, १८ अटोरिक्सा चालक र ५ जना ट्याक्टर चालक रहेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा १० हजार बढीलाई प्रशिक्षण गराएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना गराउने उद्देश्यले सञ्चालित अभियानमा सर्वसाधरण बटुवा, स्कुल तथा क्याम्पसमा अध्ययनरत विद्यार्थी र सवारी साधनका कर्मचारी रहेको कार्यालय प्रमुख योगेन्द्र तिमिल्सीनाले बताउनुभयो । सडकको अवस्था साघुरो भएका कारणले पैदलयात्रु दुर्घटना जोखिम बढ्दैगएकाले यस पटक बटुवालाई समेत प्राथमिकता दिएको प्रहरीको भनाइ छ ।
मुख्य व्यापारिक क्षेत्र, तथा हाटबजारमा आउजाउ गर्न बाटोमा हिँड्दैगरेका बटुवाहरुलाई पनि सो बारे जानकारी गराइएको प्रहरीले जनाएको छ । राजमार्गमा हिँड्दा अपनाउनु पर्ने सावधानी विषयमा समेत गराएको थियो । सडकपेटी नभएको अवस्थामा दायाँ हातको छेउ समाएर हिँड्नु पर्ने भए पनि ९० प्रतिशत बढी बायाँ छेउबाट हिँड्ने गरेको ट्राफिक प्रहरी सहायक निरीक्षक युवराज बर्सौलाले बताउनुभयो ।
यसैगरी ट्राफिक प्रहरीले चालु आर्थिक वर्षमा ५६ विद्यालयका ४ हजार २३० विद्यार्थी, २ हजार १० जना सवारीचालक तथा परिचालकलाई प्रशिक्षण दिएको छ । पछिल्लो पाँच महिनामा जिल्लामा भएको ४४ सवारी दुर्घटनामा २८ जनाको मृत्यु र ६३ जना घाइते भएका थिए ।