काठमाडौं, पुस २० गते। खुलामञ्चमा भूमिगत पार्किङ बनाउने काठमाडौं महानगरपालिकाको निर्णयप्रति विभिन्न मत आइरहेका छन्। अकुपाई टुँडिखेल अभियानताको टोलीले उपमेयर सुनीता डङ्गोललाई नै भेटेर ज्ञापनपत्र हस्तान्तरण गर्दै यो निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ।
खुला मञ्चमा पार्किङस्थल निर्माण भए मध्य शहरमा रहेको खुला चाैर मासिने र भूमिगत जलभण्डारणमा असर पर्ने भएकाले अभियन्ताले निर्णय फिर्ता लिन आग्रह गरेका थिए। महानगरले भने यसको निचोड अहिले नै ननिस्किएकाले महानगरले यसको आवश्यकताका आधारमा मात्र निर्णय गर्ने बताएको छ। महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार अहिले यसको सम्भाव्यता अध्ययन प्रतिवेदन (डीपीआर) तयारीको काम भइरहेको छ।महानगरले सडकमा देखिएको सवारी पार्किङको समस्यालाई हल गर्नको लागि खुलामञ्चमा ट्रिपल बेसमेन्ट पार्किङको पकिल्पना गरिएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘सवारी पार्किङ कारणले सडक अस्तव्यस्त देखिएको छ। अहिले महानगरमा सवारी पार्किङको समस्याका कारण कतिपय पसल सञ्चालन नै हुन सकेका छैनन्। खुलामञ्चमा पार्किङ बनेको खण्डमा साना ठूला गरी करिब पाँच हजार सवारी अटाउन सक्नेछन्।’
पार्किङस्थल बनाउन महानगरभित्रको खाली जग्गा नै हेर्नुपर्ने भएकाले खुलामञ्च नै रहेकाले यसको परिकल्पना गरिएको उहाँको भनाइ छ। अबको २० वर्षपछि महानगर अहिले परिकल्पना गरेभन्दा धेरै फरक मोडलमा जाने भएकाले यस ठाउँमा पार्किङस्थल बनाउँदा महानगर आधुनिक मोडेलमा जानका लागि सहज हुने उहाँको भनाइ छ।
सम्भाव्यता अध्ययनको कार्य अहिले जारी रहेकाले यसको सार्वजनिक सुनुवाइ गरेर पारित भएमात्र पार्किङस्थल निर्माण हुने उहाँको भनाइ छ। मानन्धरले भन्नुभयो, ‘‘अहिले डीपीआर निर्माणकै क्रममा छ। यो बनेपछि सरोकारवाला सबैसँग छलफलपछि सार्वजनिक सुनुवाइ गरेर पारित भएमा मात्र निर्माण कार्य अघि बढाउँछौँ।’’ गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाही, सपना थामी र केशब गुरुङले तयार पार्नुभएको भिडियो सामग्री :