• १२ मंसिर २०८१, बुधबार

महेन्द्र उद्यान जीर्णोद्धार गरी शहीद स्तम्भ बनाइँदै

blog

पविता पौडेल

बुटवल, पुस २०  गते । बुटवल अस्पताल लाइनमा जीर्ण अवस्थामा रहेको महेन्द्र उद्यानलाई संरक्षणसहित परिवर्तन गरी शहीद स्तम्भ उद्यान बनाइने भएको छ । लुम्बिनी प्रदेश र  बुटवल उपमहानगरपालिकाको सहयोगमा आधुनिक किसिमले सो उद्यान निर्माण गरिने भएको हो ।

१९ दिने जन आन्दोलनमा शहीद भएका र १० वर्षे जनयुद्धमा शहीद भएकाहरुको सम्झनामा सो शहीद स्तभ बनाइन लागेको  बताइएको छ । उद्यान बनाउन बुटवल उपमहानगरपालिकाले  ५ लाख रुपियाँ बजेट छुट्याएको  । त्यस्तै, प्रदेश सरकारले ५ लाखभन्दा बढी बजेट सहयोग गर्ने प्रतिबद्धता गरेको बुटवल उपमहानगरपालिका नगरप्रमुख  खेलराज पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक डिभिजनले कति क्षेत्रफलमा उद्यान बनाउने निर्णय दिएपछि काम सुरु हुन्छ ।”

सो पार्कको भित्री भाग उपमहानगरपालिकाको सहयोगमा बन्ने र बाहिरी भाग बुटवल सडक डिभिजन कार्यालयले बनाउने सहमति भएको नेकपा (माओवादी केन्द्र)  रुपन्देही संयोजक निर्मल जिसीले बताउनुभयो ।  

पार्कको अहिले कायम रहेको जग्गाको क्षेत्रफल  १०.६ मिटरलाई घटाएर ५.६ मिटर कायम गरी  बनाइने माओवादी केन्द्र नगर अध्यक्ष महेन्द्र भुषालले  जानकारी दिनुभयो । महेन्द्र पार्क पहिला पनि माओवादी केन्द्रले नै बनाएको थियो । अहिले त्यसलाई परिमार्जन गरेर शहीद स्तम्भ बनाउने भुषालले बताउनुभयो ।  

यता, महेन्द्र उद्यान नजिकै रहेको पुष्पलाल उद्यान पनि जीर्ण अवस्थामा छ । बुटवलको सडक चौडा बनाउने क्रममा पुष्पलाल पार्कको आधा जमिन सडकले ओगटेपछि सो उद्यान पनि जीर्ण अवस्थामा पुगेको हो । 

यी दुवै  पार्क निर्माण गर्न जरूरी रहेको बताउँदै बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेले भन्नुभयो, “अब छिट्टै सडकसँगै दुई पार्क बन्दैछन् । दुबै उद्यान बनाउन बुटवल उपमहानगरपालिका  र लुम्बिनी प्रदेश सरकारको सहयोग हुने प्रमुख पाण्डेले बताउनुभयो । बुटवलको मुटुमा रहेका यी पार्क जीर्ण हुँदा बुटवल सहर कुरुप देखिएको छ ।