• ११ मंसिर २०८१, मङ्गलबार

महिला जनप्रतिनिधिलाई नेतृत्व विकास प्रशिक्षण

blog

नेतृत्व क्षमता विकास तालिममा सहभागी महिला जनप्रतिनिधि । तस्बिर : कमल शर्मा

कमल शर्मा

दैलेख, पुस २० गते । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिलाई नेतृत्व क्षमता विकास अभिवृद्धि प्रशिक्षण दिइएको छ । जिल्लाको डुगेश्वर गाउँपालिका र गुराँस गाउँपालिकाका महिला जनप्रतिनिधिलाई सो प्रशिक्षण प्रदान गरिएको हो । 

टेवा टिमको आर्थिक सहयोगमा शान्तिका लागि साझा अभियान नेपालको सहकार्यमा महिला सशक्तीकरण मञ्च नेपालको आयोजनामा जिल्लाका दुई पालिकाका महिला जनप्रतिनिधिलाई नेतृत्व क्षमता अभिवृद्धि तालीम दिएको छ । 

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ मा स्थानीय सरकारका जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार, महिला, दलित महिला सदस्य तथा कार्यपालिका सदस्यको काम, कर्तव्य र अधिकार, नेतृत्व विकास, सङ्घीयता, मानव अधिकार र विभिन्न तहका सरकारका अधिकार र संवैधानिक व्यवस्था, महिला नेतृत्व विकासका आधारभूत सीपहरूलगायत विभिन्न कानुनी व्यवस्था, सूचनासम्बन्धी हक अधिकार विषयमा महिला जनप्रतिनिधिको क्षमता विकास गर्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको महिला सशक्तीकरण मञ्च नेपालले जनाएको छ ।  

महिला सशक्तिकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले स्थानीय तहमा निर्वाचित भएका महिलाले आफ्ना अधिकार, काम कर्तव्यका विषयमा जानकारी दिने र उहाँहरूको क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । महिला कार्यपालिका र वडा पालिकामा केवल साक्षीको रूपमा मात्र नभएर साँच्चिकै नेतृत्व लिन सक्नेगरी उहाँहरूको क्षमता विकास गर्न लागिएको उहाँले बताउनुभयो । 

जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले संविधानले व्यवस्था गरेबमोजिम महिला निर्वाचित भए पनि आफ्नो नेतृत्व विकास नगरेका कारण पार्टीले समेत प्रमुख पदमा उम्मेदवार नबनाउने समस्या रहेको बताउनुभयो । कतिपय स्थानीय तहमा महिलालाई उम्मेदवार बनाउँदा नसोधेरै वा बस्नै पर्छजस्ता बाध्यकारी नियम लगाएका कारण महिला निर्वाचनमा लडेको स्मरण गर्दै आगामी दिनमा महिला नेतृत्वका लागि आफै अगाडि बढ्नु पर्ने बताउनुभयो । 

जिल्लाका ११ पालिकामा निर्वाचित महिला जनप्रतिनिधिको क्षमता विकासका लागि स्थानीय सरकारले समेत चासो दिनुपर्ने बताउनुभयो । गैरसरकारी संस्था महासङ्घ दैलेखका अध्यक्ष महारूप खत्रीले निर्वाचित महिला जनप्रतिनिधिले जनताको सेवामा तल्लिन हुनुपर्ने बताउनुभयो । 

गुराँस गाउँपालिकाका अध्यक्ष शिवाकुमारी खड्काले स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिको क्षमता विकाससँगै उहाँहरुलाई आफ्नो काम, कर्तव्य र अधिकारका विषयमा जानकारी प्राप्त गर्नु राम्रो भएको बताउनुभयो । तालिमको सहजीकरण अधिबक्ता बालमुकुन्द घिमिरे र बिन्द्रा महर्जनले गर्नुभएको थियो ।