• ११ मंसिर २०८१, मङ्गलबार

दलको नेताका लागि कांग्रेसमा सातजनाको दाबी

blog

प्रकाशविक्रम शाह

धनगढी, पुस १९ गते । नेपाली कांग्रेसबाट सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलको नेताका लागि सात जनाले दाबेदारी प्रस्तुत गर्नुभएको छ । सो पार्टीको मङ्गलबार बसेको प्रदेश समितिको बैठकमा सात जनाले दाबेदारी प्रस्तुत गर्नुभएको हो ।

दलको नेतामा आकांक्षा देखाउनेमा प्रदेशका महामन्त्री मेघराज खड्का, शिवराज भट्ट, बहादुरसिंह थापा, कमलबहादुर शाह, दिवानसिंह विष्ट, प्रकाशबहादुर देउवा र मानबहादुर रावल रहनुभएको छ ।

कांग्रेसका प्रदेश महामन्त्री नरनारायण शाह मनुका अनुसार सातै जनालाई सहमतिमा दलको नेता छान्न सुझाव दिइएको छ । बुधबार १० बजेसम्म सहमतिमा दलको नेता छान्ने समय दिएका छौ महामन्त्री शाहले भन्नुभयो, सहमति भएन भने प्रजातान्त्रिक विधिमा दलको नेता छान्नका लागि प्रदेश समितिले वातावरण बनाउनेछ । 

५३ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका १९ सदस्य छन् । कांग्रेस सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल हो । सुदूरपश्चिममा कांग्रेस बाहेकका दल नेकपा ( माओवादी केन्द्र) , नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) ले दलको नेता सर्वसम्मतिले छानिसकेका छन् ।