काठमाडौँ, पुस १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकी ममतामयी माता हीरा बा मोदीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार एक शोक सन्देशमार्फत भारतका प्रधानमन्त्री मोदीकी माता हीरा बाको आत्माको चिरशान्तिको कामना गर्नुभएको छ। यस्तै यस दुःखद घडीमा भारतका प्रधानमन्त्री मोदी र उहाँका परिवारप्रति गहिरो समवेदनासमेत प्रधानमन्त्री प्रचण्डले व्यक्त गर्नुभएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीरा बाको ९९ वर्षको उमेरमा शुक्रबार निधन भयो। उहाँको स्वास्थ्यमा समस्या आएपछि उहाँलाई भारतको गुजरात राज्यस्थित अस्पतालमा भर्ना गरिएको थियो।हीरा बाको जन्म सन् १९२३ मा गुजरातको मेहसाना जिल्लास्थित विसनगरमा भएको थियो।उहाँको बाल्यकाल गरिबी र अभावमा बितेको थियो।