• २३ असार २०८१, आइतबार

तामाङ र सेर्पालाई मिनि म्याराथन उपाधि

blog

म्याराथन विजेतालाई पुरस्कार प्रदान गरिँदै । तस्बिर : गोरखापत्र

राधा लुइँटेल

फिदिम, पुष १४ गते । पाँचथरको फिदिममा जारी चासोक मेलाका अवसरमा आयोजित सुम्हात्लुङ मिनि म्याराथन प्रतियोगितामा पुरुषतर्फ धरानका प्रशान्त तामाङ र महिलातर्फ ताप्लेजुङकी समपाल्मुु सेर्पाले जित्नुभएको छ ।

४६ जना सहभागी पुरुषतर्फको प्रतियोगितामा निर्धारित साढे नौ किलोमिटर दूरी तामाङले २९ मिनेट १० सेकेण्डमा पूरा गर्नुभयो । महिलातर्फकी विजेता सेर्पाले ३७ मिनेट २० सेकेण्डमा दूरी पूरा गर्नुभयो । महिलातर्फ ८ जना धावकले भाग लिएका थिए । 

यस्तै पुरुषतर्फ २९ मिनेटमा दूरी पार गर्दै ताप्लेजुङका रमेश लिम्बू दोस्रो र पाँचथरका दीपक सुहाङ तेस्रो स्थान हासिल गर्न सफल हुनुभएको छ । सुहाङले ३० मिनेट ३० सेकेण्डमा उक्त दूरी पार गर्नुभएको थियो । महिलातर्फ धरानकी ४३ मिनेट ५८ सेकण्डको अवधिमा उक्त दूरी पार गरेकी देवीमाया राई दोस्रो र पाँचथर फिदिमकी समीक्षा सेर्माले ४५ मिनेटमा दूरी पार गरेर तेस्रो स्थान हासिल गर्नुभएको छ ।

पुरुषतर्फको प्रतियोगिताका धावकमध्ये प्रथम, द्वितीय र तृतीयलाई उपाधिसहित क्रमशः नगद ३०, २० र १० हजार रुपियाँ  तथा महिलातर्फका धावकलाई नगद ५, ३ र २ हजार रुपियाँ पुरस्कार प्रदान गरिएको छ । विजेतालाई प्रमुख अतिथि फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले, प्रायोजक शकुन्तला नेम्वाङलगायतले पुरस्कार प्रदान गर्नुभयो ।