• २३ असार २०८१, आइतबार

फिदिममा सुम्हात्लुङ मिनि म्याराथन हुने

blog

फाइल तस्बिर । गोरखापत्र

राधा लुइँटेल

फिदिम, पुस १० गते । पाँचथरमा उधौली पर्वको अवसरमा चौथो संस्करणको सुम्हात्लुङ मिनि म्याराथन पुस १४ गते हुने भएको छ । प्रतियोगिता साढे नौ किलोमिटर दूरीको हुने आयोजक सस्थाले आइतवार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।

सुम्हात्लुङ मन्दिरबाट सुरु हुने दौड पाँचथर क्याम्पस, आहालगैरी, जोरसाल, पल्लोटार, कालुरम ग्यारेज र जिल्ला प्रहरी कार्यालय हुँदै फिदिम ४ को सुम्हात्लुङ मन्दिरमा पुगेर समापन गरिनेछ ।

प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने धावकले उपाधिसँगै क्रमशः ३०,२० र १० हजारसँगै मेडल र प्रमाण पत्र तथा चौथोदेखि १०औं स्थानमा रहने सात खेलाडीलाई जनही एक हजार नगदले पुरस्कृत गरिने आयोजक संस्थाका अध्यक्ष दिलबहादुर लावतीले जानकारी दिनुभयो । सुम्हात्लुङ मिनि म्याराथन २०७३ सालदेखि आयोजना गर्न थालिएको हो ।

२०७७ र २०७८ सालमा भने कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण प्रतियोगिता सञ्चालन हुन सकेको थिएन । प्रतियोगितामा नेपालका विभिन्न जिल्लासँगै भारत र सिक्किमसम्मका धावकले भाग लिन सक्ने आयोजकले जनाएको छ ।