छविलाल पाण्डे
बुटवल, पुस २ गते । गत मङ्सिर ४ गते सम्पन्न लुम्विनी प्रदेश सभा निर्वाचनको प्रतिवेदन प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शनिवार पेश गरिएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश सभा अन्तर्गतको लुम्विनी प्रदेशको निर्वाचन प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गर्नुभएको हो ।
त्यस अवसरमा बोल्दै लुम्विनी प्रदेशका प्रमुख अमिक शेरचनले लुम्विनी प्रदेशमा सरकार गठनको प्रक्रिया अब सुरु हुने वताउनुभयो । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको औपचारिक परिणाम औपचारिक रुपमा निर्वाचन आयोगबाट प्राप्त भएकाले अब छिट्टै सरकार गठन प्रक्रिया अघि बढ्ने उहाँको भनाइ छ ।
प्रदेश प्रमुख शेरचनले यो निर्वाचनबाट नेपाली जनताले संघीय शासन व्यवस्था आवश्यक र अपरिहार्य छ भन्ने पुष्टी गरेको बताउँदै नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त व्यवस्था संस्थागत गर्न निर्वाचनबाट सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो ।
विगतभन्दा राम्रो र फरक तरिकाले निर्वाचन सम्पन्न भएको बताउँदै शान्तिपूर्ण र निष्पक्षरुपमा निर्वाचन सम्पन्न गर्न सकेकोमा निर्वाचन आयोगलाई धन्यबाद दिनुभयो ।
कार्यक्रममा निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले एक दुई स्थानमा छिटफुट घटना बाहेक निर्वाचन शान्तिपूर्ण र निष्पक्षरुपमा सम्पन्न भएको बताउनुभयो । निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यबाद दिनुभयो ।
आयोगले शनिवार प्रस्तुत गरेको प्रतिवेदनअनुसार लुम्विनी प्रदेशको प्रदेशसभातर्फ ८७ जना निर्वाचित हुनुभएको छ । त्यसमध्ये पुरुष ५४ र महिला ३३ जना रहेका छन् ।