• ३१ वैशाख २०८१, सोमबार

फेरिए जनप्रतिनिधि, उस्तै काठमाडौं (फोटो फिचर)

blog

काठमाडौँ, पुस २ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन सकिएको छ । अब नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरूबिच रस्साकस्सी छ । कुनै पनि एक दलको मात्र बहुमत नपुगेको अवस्थामा गठबन्धन गरेर सरकार बनाउने ध्याउन्नमा शीर्ष राजनीतिक दलहरू छन् । 

आम जनताले ५ वर्षका लागि देशको विकास गर्न भनेर चुनेर पठाएका जनप्रतिनिधिहरू जिल्लावासीहरूसँग भेटघाट गरेर बिस्तारै केन्द्रमा उपस्थित हुँदै छन् । अबको महिना दिनभित्र सम्भवतः देशले नयाँ सरकार पाउनेछ । आम जनताहरू देश विकासमा राजनीतिक दलहरूले चासो नदिँदा असन्तुष्ट देखिएको प्रमाण गत निर्वाचनले पुष्टि गरिसकेको छ । किनभने ठुला मानिएका राजनीतिक दलहरूका अगाडि नयाँ शक्तिहरूको उदय भएको छ । जनताले विकास चाहेका छन् त्यो पनि तीव्र गतिमा । तर राजनीतिक दल र देशको नेतृत्व जनचाहनाअनुसार अब्बल साबित हुन सकिरहेको छैन ।अबको नेतृत्वले देश विकास गर्नेमा आम सर्वसाधारणहरू आशावादी छन् । तर निर्वाचनबाट जनप्रतिनिधि चुनिएर भइसक्दासमेत काठमाडौँ उपत्यकाको अवस्था भने निर्वाचनअघिको भन्दा फरक देखिँदैन । जताततै अस्तव्यस्त देखिन्छ । भएका संरचना भत्काइएका छन् तर त्यसको व्यवस्थापन भएको छैन । विकास निर्माणका लागि पहलकदमी थाल्नु उचित त हो तर उचित व्यवस्थापन बिनाको विकास निर्माण दिगो हुन सक्दैन । 


त्यसैले पनि जनताले चाहेको व्यवस्थापनसहितको विकास निर्माणको खाँचो देखिन्छ । प्रतिनिधि सभाका उम्मेदवार चुनिएको करिब १ महिना पुग्नै लागेको छ । तर काठमाडौँ उपत्यकामा अहिले पनि अस्तव्यस्त ठाउँहरू धेरै भेटिन्छन् । मर्मत सम्भारका लागि सुरु गरिएका ठाउँहरूमा पनि त्यत्तिकै अस्तव्यस्त छ भने काम गर्नुपर्ने ठाउँमा समेत प्रतिनिधिहरूको खासै चासो देखिँदैन । न त राम्रोसँग फोहोर व्यवस्थापन भएका छ, न त सडकका खाल्डाखुल्डी नै पुरिन थालेका छन् । न पार्किङको बन्दोबस्त छ, न त उपत्यका सर सपाइको काम भएको छ । 


एक महिनाको बिचमा काठमाडौंवासीले निर्वाचनताका जनताले राखेका माग र अपेक्षालाई जनप्रतिनिधिहरूले खासै चासो दिएको देखिँदैन । आगामी दिनमा विकास निर्माणले गति लिन्छ वा यत्तिकैमा ५ वर्ष कट्छ त्यो भने हेर्न बाँकी नै छ । तर अब जनता सचेत भइसकेका छन्, अब पनि नेताहरूले जनतालाई  आश्वासनहरू दिइरहने हो भने आगामी दिनमा ठुला राजनीतिक दलहरूको भविष्य धरापमा पर्ने निश्चित छ ।



तस्बिर: न्युज एजेन्सी नेपाल