• १३ असोज २०८१, आइतबार

अस्पतालले बेच्न थाल्यो अक्सिजन

blog

बागलुङ समाचारदाता 

बागलुङ, मङ्सिर २५ गते । धौलागिरि अस्पताल बागलुङले व्यावसायिक रूपमा अक्सिजन उत्पादन गरेको छ। कोरोना सङ्कटकालीन अवस्थामा धेरै क्षमताको नयाँ अक्सिजन उत्पादन प्लान्ट स्थापना तथा पुरानाको क्षमता वृद्धि गरेपछि अस्पतालमा खपत भएर बचेको अक्सिजन अन्य स्वास्थ्य संस्था तथा व्यावसायिक प्रयोजनका लागि बिक्री गर्न थालेको हो। 

कुनै समय अक्सिजनको चरम सङ्कट भोग्दै आएको अस्पतालले अहिले आफैँ अक्सिजन निर्यात गर्ने अवस्थामा पुगेको हो। धौलागिरि अस्पतालमा कोरोना कालको दोस्रो लहरमा अक्सिजनको ठूलो समस्या भोगेको थियो। सङ्घीय तथा गण्डकी प्रदेश सरकारको तीन करोड रुपियाँ लागतमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ। विगत दुई महिनादेखि नयाँ प्लान्ट सञ्चालनमा आएर अहिले नियमित अक्सिजन उत्पादन गरेको धौलागिरि अस्पताल प्रशासन शाखाका अधिकृत छैठौँ तेजप्रसाद निउरेले जानकारी दिनुभयो। 

चार वर्षअघि गण्डकी प्रदेश सरकारको ५० लाख रुपियाँ सहयोगले अस्पतालमा २५ शय्यालाई पुग्ने अक्सिजन प्लान्ट स्थापना गरिएको थियो। कोरोना महामारीमा उक्त प्लान्टले उत्पादन गर्ने अक्सिजन अपुग भएपछि पोखरालगायतका ठाउँबाट अक्सिजन खरिद गरेर उपचार गर्नुपर्ने बाध्यता थियो। नयाँ प्लान्ट सञ्चालनमा आएपछि साबिक धौलागिरि अञ्चलभित्र रहेका अस्पताल, स्थानीय तहमा रहेका अस्पताल र निजी क्षेत्रलाईसमेत अक्सिजन बिक्री गर्न थालेको न्यउरेले जानकारी दिनुभयो। 

बागलुङका स्थानीय तहमा सञ्चालित अस्पताललाई अक्सिजन आवश्यक परे समन्वय गर्न पत्रचार गरिएको छ। “हाम्रो अक्सिजन निजी कम्पनीको भन्दा सस्तो छ,” उहाँले भन्नुभयो, “बाहिरी जिल्लाबाट ढुवानी गर्दा लाग्ने खर्चको पनि बचत हुन्छ। अस्पताल व्यवस्थापन समितिले सानो सिलिन्डर, मध्यम र ठूलो गरी तीनवटा अक्सिजन सिलिन्डर भर्नका लागि दररेट कायम गरेको छ। निजी क्षेत्रले खरिद गर्दा भ्याट रकमसहित निर्धारित मूल्यमा अतिरिक्त ५० रुपियाँ बढी तिर्नुपर्ने हुन्छ।” 

सानो अक्सिजन सिलिन्डरको ३७० रुपियाँ, मध्यमको ६५० रुपियाँ र ठूलो अक्सिजन सिलिन्डरको एक हजार तीन सय रुपियाँ मूल्य तोकिएको छ। कोरोना कालमा विभिन्न क्षेत्रबाट प्राप्त भएका अक्सिजन सिलिन्डरले अस्पताललाई पर्याप्त पुग्ने गरी सुरक्षित गरिएको धौलागिरि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.अभिषेक वाग्लेले जानकारी दिनुभयो। धौलागिरि अस्पताललाई गण्डकी प्रदेशको उप–प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने गरी दुई सय शय्याको बनाउँदा अक्सिजन प्लान्टले उत्पादन गरेको अक्सिजन अस्पतालमै खपत हुनेछ।