• ११ वैशाख २०८१, मङ्गलबार

बस्ती जोगाउन मादीमा तटबन्ध

blog

तनहुँ समाचारदाता 

तनहुँ, मङ्सिर २३ गते । व्यास नगरपालिका–५, पाटन क्षेत्रको मादी नदी कटानले गर्दा जोखिममा परेको बस्ती सुरक्षाका लागि व्यास नगरपालिकाको सक्रियतामा टेवा पर्खाल लगाउने कार्य सुरु भएको छ। 

कटानले असर पारेको क्षेत्रमा जालीमा ढुङ्गा भरेर पर्खाल लगाउने कार्य धमाधम भइरहेको छ। बस्तीको संरक्षण कार्यमा नगरपालिका जुटेपछि प्रभावित क्षेत्रका बासिन्दामा खुसी छाएको पाटन टोल विकास संस्थाका पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठले बताउनुभयो।

मादी नदीमा वर्षायाममा आएको बाढीले ६६३ घरधुरीलाई असर परेपछि नगरप्रमुख वैकुण्ठ न्यौपाने चासो दिएर संरक्षणमा जुट्नुभएको श्रेष्ठ बताउनुहुन्छ। गत २०७८ भदौ ९ गते मादी नदीको कटानले बस्तीका धेरै घर जोखिममा परेपछि व्यास नगरप्रमुख न्यौपानेले तत्कालै स्थलगत अवलोकन गरी बस्ती संरक्षणका लागि पहल गर्ने आश्वासन दिनुभएको थियो। नगरपालिकाको पहलमा गण्डकी प्रदेश सरकारको दुई करोड ५० लाखको लागतमा ग्याबिन वाल लगाउन थालिएको मादी तटबन्धन निर्माण समितिका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिनुभयो। वडा नं. ५ को पाटनमा १०२ मिटर र व्यास–३ को भतेरीमा २५८ मिटर लामो ग्याबिन पर्खाल लगाएर संरक्षण गर्न सो बजेट विनियोजन भएको उहाँले जानकारी दिनुभयो। 

व्यास–५ पाटनका ६६३ र व्यास व्यास–३ का चार सय घर गरी करिब एक हजार एक सय घर नदी कटानको जोखिममा रहँदै आएको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ। पाटनतर्फ तीन सय मिटरमा जाली पर्खाल लगाउने योजना भए पनि पहिलो चरणमा एक सय दुई मिटरमा टेवा पर्खाल लगाउन प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ। 

समितिका अनुसार नदी कटानले गर्दा पाटन र तल्लो पाटन क्षेत्रका करिब एक दर्जन सङ्घसंस्थाका भौतिक संरचनासमेत धरापमा परेका छन्। नदीले करिब ३० मिटर क्षेत्र कटान गरी नदी किनारमा लगाइएका बाँसको गाँजसमेत ढालेर बस्तीतर्फ मोडिएपछि उच्च जोखिममा परेको थियो। दुई महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी एमआर एन्ड गु्रप प्रालिले निर्माणको जिम्मा पाएको नगरपालिकाले जनाएको छ। वृद्धाश्रम, भजनकीर्तन समितिको भवन, गुरुकुल आश्रम, पाटन खेलकुद मैदान, पाटन परासर पार्क, भूपू भवन, सामुदायिक भवन, परासर माध्यमिक विद्यालयलगायतमा नोक्सान पु¥याएको छ।

तल्लो पाटनमा मगर, गिरी, बस्ती, विद्यालय क्षेत्रमा सबै मिश्रित जातजाति र झोलुङ्गे पुल आसपास क्षेत्रमा नेवार समुदायका मानिसको बसोबास रहेको छ। मादी नदीले कटान गरी जोखिम बनाएको पाटन, दमौली, सिसाघाट बजार, कलेस्ती बजार, गौसंरक्षण क्षेत्रलाई संरक्षण गर्न सङ्घ सरकारबाट बजेट विनियोजनका लागि पहल भइरहेको नगरपालिकाले जनाएको छ। गत वर्ष रु. पाँच करोड र यस वर्ष २९ करोड विनियोजन भएको छ।